सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को शुभकामना सन्देश

अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति‚ समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित रहेको योगले विश्वव्यापी सम्मान प्राप्त गरेको छ । यस वर्ष हामी “मानव सुस्वास्थ्यको लागि योग” भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेका छौं ।

योग एक शारीरिक‚ मानसिक एवं आध्यात्मिक अभ्यास हो । यो निश्‍चित नियम, विधि र प्रक्रियामा आधारित वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति समेत हो । स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउँछ । शरीरलाई स्वस्थ्य र फूर्तिलो बनाउने तथा मनलाई शान्त बनाउने उपायका रूपमा योगाभ्यासको उल्लेख हाम्रा प्राचीन ग्रन्थहरूमा भएको छ । योगको नियमित अभ्यासबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ हुनुका साथै तनावबाट मुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक उर्जा प्राप्त  हुने र आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ ।

हाम्रा योग गुरुहरू र अध्येताहरूले बताएअनुसार नेपाल योगको भूमि हो । नेपालमा उद्‍भव भएका शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएका हुन् । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन र शहरको निर्माणमा पनि योग र तन्त्रमा आधारित ज्ञान–विज्ञान एवं वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ । हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव छ । ढुङ्गेधारा, कुवा, इनार र राजकुलोका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरिएको देखिन्छ । यसैले, योगलाई  नेपाली पूराविद्याको एउटा महत्त्वपूर्ण विधाको रूपमा मानिएको हो  । यस ऐतिहासिक पक्षका कारण योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका   अध्येताहरूका लागि नेपाल विश्वकै मूल गन्तव्य बन्न सक्दछ भन्ने मलाई लागेको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस हामी कोभिड–१९ महामारीद्वारा सिर्जित विषमताका बीचमा मनाउन गइरहेका छौं । यस महामारीका कारण आम रूपमा मानिसको भौतिक जीवन र शारीरिक स्वास्थ्य मात्र प्रभावित भएको छैन‚ अवसाद र चिन्ता जस्ता मानसिक समस्या समेत देखा परेका छन्, जसका कारण शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढ्न  पुगेको छ ।

अन्तमा,  नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसले हामी सबैलाई प्रेरित गर्दै  हाम्रो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु  ।

धन्यवाद ।

२०७८ साल असार ७ गते सोमबार ।