सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० मा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू,

विभिन्न धर्म, संस्कृति तथा सम्प्रदायका गुरुजनहरू,

महिला तथा सज्जनवृन्द !

विद्याकी देवी सरस्वतीको आराधना गर्ने यस पवित्र दिनमा म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धार्मिक सहिष्णुता र विविधताभित्र एकताको सन्देश दिन यस जिल्लाको सबैभन्दा जेठो तथा उच्च शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको यस बहुधार्मिक महाअनुष्ठानमा सहभागी हुन किराँतहरूका महागुरु, १६ औँ राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्दको तपोभूमि, समाधिस्थल एवम् वैदिक दर्शनका ज्ञाता स्वामी प्रपन्नाचार्यको भूमि पाँचथरमा आएर तपाईँहरूबीच उपस्थित हुन पाउँदा मलाई खुसी लागेको छ । सबै धर्म-संस्कृतिका मानिसहरूलाई एकै ठाउँमा जोड्ने पवित्र उद्देश्य राखेर यस्तो पुनीत कार्य गरेकोमा क्याम्पस परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यस अवसरमा म लोकतन्त्रका लागि आफूलाई समर्पित गर्ने अथक योद्धाहरू भूविक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, पूर्णकुमार शेर्मा, देवान दोर्जे थिङ, प्रेमराज आङ्देम्बे, मचिन्द्र केरुङ, ऐनसिंह राई, कालिदास श्रेष्ठ, तेजप्रकाश रिजालहरूलाई स्मरण गर्न चाहन्छु । त्यस्तै,  क्याम्पस स्थापनामा ठूलो योगदान गर्ने पूर्वमन्त्री पद्मसुन्दर लावतीलाई पनि स्मरण गर्न चाहन्छु ।

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो । यो ज्ञान परम्परा र सभ्यताभित्र मुख्यत: किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ । हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदीप्त छौँ ।

यो भूमि हाम्रा विभूति महागुरु फाल्गुनन्दको भूमि हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार, संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणका लागि यहीँ साधना र सङ्घर्ष गर्नुभएको थियो । उहाँको कार्यले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ ।  उहाँले स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का‘ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहनेछ ।

यी सबै हाम्रा हुन् । यी साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्यता, एकता, सद्भाव र उदारता सिकाएका छन् । किनभने यी एक जातिमा वा धर्मका स्रोत होइनन् । वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो । हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौँ तर सबै हामी नै हौँ र ती सबैको एकता, समभाव र सहअस्तित्व हाम्रो मुख्य परिचय हो ।

हामी सबै छाँै, त्यसैले सप्तरङ्गी छौँ बगैँचाजस्तो । हामी अनेक रङमा छाँै, त्यसैले हाम्रो सभ्यता इन्द्रेणीझैँ सुन्दर छ । इन्द्रेणीको एउटा रङ निकाल्ने हो भने जसरी त्यो इन्द्रेणी इन्द्रेणी हुँदैन, त्यस्तै हाम्रो साझा र एकताबद्ध सभ्यताबाट एउटा रङ निकाल्ने हो भने हाम्रो सभ्यता अधुरो हुन्छ । त्यसैले मलाई लाग्छ, हामी सबै छौँ, त्यसैले पूर्ण छौँ । त्यसैले नेपाल पूर्ण छ । यही नै हाम्रो पहिचान हो । यही नै हाम्रो सभ्यता हो । यही नै हाम्रो भव्यतम् संस्कृति हो ।

यो कुरालाई स्वीकार गरेपछि मात्र हामी एक मौलिक, सबल, समावेशी र अग्रगामी राज्य निर्माण गर्न सक्नेछौँ । नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले यही मूल आदर्श र मर्मलाई आत्मसात् गरेको छ ।

हामी विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौँ । यस्तो राष्ट्र जोकसैलाई निषेध गरेर होइन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकताबद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौँ ।

यो अर्थमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकताबद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको छ । म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।

जसरी हाम्रो यो देश सबै नेपालीको साझा हो, त्यसरी नै हाम्रा प्रदेशहरू पनि साझा हुन् । देश जसरी विविधतापूर्ण छ, त्यसरी नै हाम्रा प्रदेशहरू पनि नेपाल राष्ट्र सादृश्य छन् । त्यसमा पनि यो प्रदेश साँच्चै पूरै नेपाल एकै ठाउँमा भेला भएजस्तै छ । यहाँ नेपालका हरेक प्रदेशको व्यक्तित्व समाहित भएको छ । नेपालभरि पाइने विविधता यहाँ एकै ठाउँमा छ, एकत्रित छ । यसर्थ देशमा सुव्यवस्था कायम राख्न यस प्रदेशको भूमिका विशेष छ, महत्त्वपूर्ण छ भन्ने मलाई लागेको छ ।

यो देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास, यिनै तीनवटा हुन् । त्यसका लागि पहिलो खाँचो सुशासनको छ । म त्यही एजेन्डामा आज पनि उभिएको छु ।  हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यिनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।

हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, बायो डाइभर्सिटी छ । त्यसलाई हामीले चिन्न सकेनौँ । हामी फोस्रा नारामा बढी बहकियौँ । कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौँ । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौँ ।

हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरौँ । गाउँमै रोजगारी र आम्दानी आउँछ । बसाइँ सराइ रोक्न र जिल्लामै गुणस्तरीय उच्च शिक्षा दिलाउनका लागि पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र आध्यात्मिक महोत्सवको आयोजना गरेर प्रशंसनीय कार्य गरेको छ ।

सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरूपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरूपको शिक्षा प्रदान गर्नेतर्फ अबका हाम्रा कदमहरू केन्द्रित हुनुपर्छ ।

अन्त्यमा, पाँचथर बहुमुखी क्याम्पसको उत्तरोत्तर प्रगतिको कामनासहित आफ्नो भनाइ टुङ्ग्याउँछु ।

जय नेपाल !

मिति  २०८० फागुन २