सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतारोहण सङ्घको वार्षिकोत्सव समारोहमा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू,

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीज्यू,

अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ (UIAA) का अध्यक्ष पिटर मुइर,

एसियाली पर्वतारोहण महासङ्घ (UIAA) का अध्यक्ष डा. इन ज्युङ ली,

एसियाली पर्वतारोहण महासङ्घमा सहभागी हुन आउनुभएका प्रतिनिधिहरू,

उपस्थित महिला तथा सज्जनवृन्द !

 

नेपाल पर्वतारोहण सङ्घले हिमाल तथा हिमाली पर्यटनको प्रवद्र्धन क्षेत्रमा कार्यरत रहेर पचास वर्ष पूरा गरेको यस अवसरमा म हृदयदेखि नै बधाई दिन चाहन्छु । यो अवधिमा सङ्घ विभिन्न आरोहअवरोहबाट गुज्रिए पनि विगत पाँच दशकमा पर्वतारोहण पर्यटनको क्षेत्रमा यस संस्थाले छुट्टै छवि निर्माण गर्न सक्नु खुसीको विषय हो ।

हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण सङ्घले पुर्‍याएको योगदानलाई हामी बिर्सन सक्दैनौँ । नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्ने दिएको जिम्मेवारी यस सङ्घले सफलतापूर्वक पूरा गरेको छ । हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएको छ । हिमाली वातावरण संरक्षण, हिमाली जनताको सांस्कृतिक सम्पदाको संरक्षण, आरोहण खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण सङ्घले निर्वाह गरेको भूमिका सराहनीय छ ।

अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासङ्घ (UIAA) र युनियन अफ एसियन अल्पाइन एसोसिएसन (UIAA) मार्फत सङ्घले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यस सन्दर्भमा सङ्घले भर्खरै ३१ अक्टोबर २०२३ मा काठमाडौँमा युनियन अफ एसियन अल्पाइन एसोसिएसन (UIAA) को महासभा सफलतापूर्वक आयोजना गर्नु खुसीको क्षण हो । सङ्घको ५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा एसियाली पर्वतारोहण महासङ्घको साधारणसभा नेपालमै हुनु थप खुसीको विषय हो । सङ्घले यो उपलब्धिलाई अझ विस्तार गरी आफूलाई विश्व बजारमै स्थापित गराउन आवश्यक छ भन्ने मलाई लागेको छ । यसले नेपालको पर्यटन प्रवद्र्धन र विकासमा मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

उपलब्ध सीमित आर्थिक स्रोतका बाबजुद यस सङ्घले पर्वतीय पर्यटनको क्षेत्रमा खेलेको भूमिका सराहनीय छ । त्यसैले हाम्रो पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिन चाहन्छु ।

नेपालमा अनगिन्ती हिमाल छन्, जुन औपचारिक रूपमा आरोहणका लागि खुला गरिएको छैन । ती हिमालहरूको आरोहणका अनुमति दिन र प्रवद्र्धन गर्न तत्काल पहल लिन जरुरी छ । यस कार्यका लागि नेपाल पर्वतारोहण सङ्घ राम्रो साझेदार हुन सक्छ । त्यसैले म नेपाल सरकारलाई ती हिमालहरूको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन पनि सुझाव दिन चाहन्छु । जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि सङ्घले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोरियो गुटेरेसले पनि नेपाल भ्रमणका अवसरमा नेपाल कार्बन उत्सर्जनको कारक नहुँदानहुँदै पनि नेपालले जलवायु परिवर्तनको मार खेप्नुपरेको र यसबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नु हाम्रा लागि सन्तोषको विषय हो ।

अन्तमा, सङ्घको ५०औँ वार्षिकोत्सवमा उपस्थित हुनु भएका सबै एसियाली प्रतिनिधिहरूलाई धन्यवाद दिन चाहन्छु र तपाईँहरूको यो छोटो नेपाल बसाइ  स्मरणीय रहोस् भन्ने पनि कामना गर्दछु ।

 

जय नेपाल !

२०८० कात्तिक १५ ।