सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजत समारोहलाई गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू,     

मन्त्रीज्यू,

पूर्वउपप्रधानमन्त्रीज्यू,

माननीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूज्यू,

प्रधानसेनापतिज्यू,

नगरप्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरू,

उपस्थित महिला तथा सज्जनवृन्द !

नेपालीहरूले आफ्नो वीरगाथा कायम गर्न सफल भएको यस ऐतिहासिक भूमिमा उभिरहँदा आज मलाई गौरवको अनुभूति भएको छ । म यतिबेला यो क्षणमा नेपाल-अङ्ग्रेज युद्धका क्रममा वीरगति प्राप्त गर्नुहुने ती सपूतहरू लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हबलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दल खम्ब थापा, काजी वीरभञ्जन पाँडे, शमशेर राना मगर र जुठे बस्नेतप्रति श्रद्धा व्यक्त गर्दछु ।  सो युद्धका कमान्डर कर्णेल उजिरसिंह थापालाई पनि म स्मरण गर्न चाहन्छु ।

जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल हो । आधुनिक हतियारमा आएका अङग्रेज फौजलाई कर्नेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहेको भन्ने मैले सुनेको थिएँ ।

जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोसाकका उजिरसिंहको पूर्ण कदको सालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमान्डरको अर्धकदको सालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जितगढीको महत्त्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको काम सराहनीय छ ।

सार्वभौम र स्वभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन आउनुमा वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता महत्त्वपूर्ण रहेको छ । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको छ । संविधानमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक सङ्गठन रहने उल्लेख छ । राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय शान्ति, आपत्कालीन उद्धार, आन्तरिक सुरक्षा र विकास निर्माण सेनाका प्रमुख जिम्मेवारीका क्षेत्र हुन् । सोही जिम्मेवारीअनुरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जस्तोसुकै जिम्मेवारीलाई सेनाले उत्कृष्ट ढङ्गले निर्वाह गर्दै आएको छ । नेपाली सेनाले प्रतिरक्षा, आन्तरिक सुरक्षाका साथै संयुक्त राष्ट्रसङ्घको छातामुनि रही शान्तिसेनाका रूपमा विश्वशान्ति कार्यमा गौरव गर्नलायक योगदान पुर्‍याइरहेको यो अवस्था हामी सबै नेपालीका लागि खुसीको विषय हो ।

नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्र निर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्यसमेत नेपाली सेनाले गर्दै आएको छ । जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति निर्माण हुनु भनेको त्यो सैनिक-नागरिक सम्बन्ध विकासको  राम्रो उदाहरण हो । नेपाली सेनाले प्रदर्शन गरेको अनुशासन, जिम्मेवारी र व्यावसायिक कौशलको देश र विदेशमा खुलेर मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । गैरराजनीतिक चरित्रको मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गरेको छ ।

जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी छ भन्ने मलाई लाग्दछ । तत्कालीन मणि मुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिनेछ भन्ने मलाई लाग्दछ। यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका रहनेछ ।

हाल तीनै तहका सरकारसँग मिलेर नेपाली सेनाले जितगढी पुनर्निर्माणसम्बन्धी विभिन्न गुरुयोजनाअनुसार पानीको फोहोरा, युद्धको झल्को दिने चित्रलगायतका काम गरेर यो जितगढी किल्लामा संरक्षण–संवर्धन मात्र होइन पुरानो बुटवल बजार, मणि मुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकस क्षेत्रलाई समेटेर पर्यटनको विकास गर्ने योजना रहेको जानकारी पाउँदा खुसी लागेको छ ।

यो पुनीत कार्यमा सम्बन्धित सबै निकायले आआफ्नो ठाउँबाट योगदान गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । अन्त्यमा, नेपाली सेना, बुटवल उपमहानगरपालिका परिवारलगायत बुटवलवासी सबैमा धन्यवाद प्रकट गर्दछु ।

जय नेपाल !

२०८० साल पुस २० गते

रूपन्दही, जितगढी