सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले अछाम वैद्यनाथधाम कोटिहोम महायज्ञसहितको महाकुम्भ मेलामा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू,

माननीय प्रदेश प्रमुखज्यू,

माननीय मुख्यमन्त्रीज्यू,

माननीय सङ्घीय सांसदज्यूहरू,

माननीय प्रदेश सांसदज्यूहरू,

उपस्थित महिला तथा सज्जनवृन्द !

नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण सुदूरपश्चिम प्रदेशको अछाम साँफेबगरमा रहेको वैद्यनाथ क्षेत्रमा आयोजना गरिएको विराट् वैद्यनाथ कोटिहोममा सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ ।

६/६ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२/१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ आयोजित यस कार्यक्रम सफलताका लागि शुभकामना व्यक्त गर्दछु । यसबाट वैदिक सनातन धर्म-संस्कृतिको संरक्षण, लोकसंस्कृतिको प्रदर्शन, वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरी आयुर्वेद मावि बनाउने र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।

नेपालका चार पवित्र धाममध्ये वैद्यनाथ क्षेत्र एक पवित्र धराधाम हो । हाम्रा पौराणिक ग्रन्थहरूमा यस क्षेत्रको महत्त्व र विशिष्टतालाई अत्यन्त सुन्दर ढङ्गले वर्णन गरिएको पाइन्छ । शिवजीले “वैद्यनाथ क्षेत्र मेरो लागि जत्तिको प्यारो छ, त्यत्तिको न त कैलाश छ न त विन्ध्याचल नै, यस्तो मनपर्ने क्षेत्र न त पृथ्वीमा छ न त कैलाशमा नै” भनी भन्नुभएको भनेर स्कन्दपुराणको मानसखण्डमा उल्लेख गरिएबाट पनि यस क्षेत्रको महिमा र महत्त्व कति छ भन्ने प्रस्ट हुन्छ । वैद्यनाथ क्षेत्र र ज्वाला क्षेत्रको दर्शन गर्दा हजारौँ अश्वमेध यज्ञ गर्नेभन्दा सय गुणा, काशीवास गरेभन्दा हजार गुणा अधिक फल मिल्दछ भन्ने जनविश्वास रहेको छ ।

यस क्षेत्रको विकास, संरक्षण र संवद्र्धनका लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुनर्निर्माणलगायतका काम हुनु खुसीको कुरा हो । यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरी अल्प, मध्य र दीर्घकालीन रूपमा गरिने कामसहित पूर्वाधार निर्माणका काम गर्नुपर्ने आवश्यकता मैलै देखेको छु । तीनै तहका सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरी देश विकासमा योगदान पुर्‍याउन सकिने पनि मैले देखेको छु ।

शिवरात्रि, मकर सङ्क्रान्ति, विषु, होरीपर्व, दसैँ, श्रावण स्नान, बोलबमलगायत वर्षभरि हुने पर्वपूजा यहाँ धुमधामका साथ मनाइने गरिनुले पनि यसप्रतिको आकर्षण सदैव जीवन्त रहिआएको छ । यसलाई थप आकर्षण केन्द्र बनाएर लाखौँ पर्यटक भित्र्याउने सम्भावनाप्रति म सबैको ध्यानाकर्षण गराउँदछु । स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रूप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ ।

हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिन्छ । सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य हो । सबै धर्म-संस्कृतिको संरक्षण गर्ने हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ ।

अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपयोग गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो । कोटिहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा म त्यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्पे्ररणा मिलोस् भनी कामना गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु ।

जय नेपाल !

मिति २०८० फागुन १० गते