सम्मानननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट काठमाडौँ विश्वविद्यालयको इनोभेसन सेन्टरको भवन उद्घाटन समारोहलाई सम्बोधन

यस सभाका अध्यक्ष एवम् काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाज्यू,

रजिस्ट्रार अच्युत वाग्लेज्यू,

नेपालका लागि गणतन्त्र कोरियाका महामहिम राजदूतज्यू,

कोइकाका प्रतिनिधिज्यू,

प्राध्यापकज्यूहरू तथा उपस्थित महानुभावहरू !

नेपालको विद्वत्वर्ग, कूटनीतिज्ञहरू, नीति निर्माता र खोज-अनुसन्धानदाताहरू उपस्थित यो विशेष समारोहबीच नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (NTIC) भवनको उद्घाटन गर्न आमन्त्रण गर्नुभएकोमा आयोजक काठमाडौँ विश्वविद्यालय परिवारलाई म धन्यवाद दिन चाहन्छु ।

आजको युग विज्ञान-प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको हो । नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसक्नुको कारण इतिहासका महत्त्वपूर्ण कालखण्डमा यी क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवम् व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि पर्नु नै हो । भविष्यको पुस्तालाई व्यापक र द्रूत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प हामीसँग छैन । साथमा, मानव मस्तिष्कको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वत्ताले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पनि पार लगाउँदै अगाडि बढ्नुपर्नेछ ।

मानवतामैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान, नवप्रर्वतन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य छ । नेपालकै प्रविधि र नवप्रवर्तनका लागि नमुना आधुनिक केन्द्रका रूपमा स्थापित यस केन्द्रले यी सबै पक्षमा महत्त्वपूर्ण योगदान गर्नेछ ।

आज यस ल्त्क्ष्ऋ भवनको उद्घाटन गरिरहँदा मलाई यो हाम्रा लागि अनुसन्धान तथा नवीन प्रविधिको सुरुवात भएको एक ऐतिहासिक क्षण हो भन्ने महसुस भएको छ । यस अवसरमा विज्ञान तथा प्रविधिको विकासमा हाम्रा प्रयासहरूलाई सुदृढ पार्नका निमित्त मेरा दक्षिण कोरियाली समकक्षी महामहिम युन सुक येओल र दक्षिण कोरियाका जनताले नेपाललाई प्रदान गर्नुभएको निरन्तर सहयोगप्रति म धन्यवाद ज्ञापन गर्दछु ।

नेपालको प्राज्ञिक वातावरणमा प्रतिष्ठापूर्ण साख स्थापित गरेको काठमाडौँ विश्वविद्यालयको मातहत र व्यवस्थापनमा यो केन्द्र रहनुले यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको अनुभूति मलाई भएको छ । यसको लाभ समग्र मुलुकले पाउनेछ ।

यस केन्द्रमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्बद्ध तीनवटै विशिष्टीकृत खोज–अनुसन्धान एकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्न सक्नुपर्छ ।

हामीलाई थाहा छ, हामी जनसाङ्ख्यिक लाभमा छौँ । करिब ६२ प्रतिशत आर्थिक रूपमा क्रियाशील हुने जनसङ्ख्या छ । यो जनसङ्ख्यालाई नवप्रवर्तन केन्द्रमार्फत इन्क्युवेसन सेन्टर चलाएर स्टार्टअपमा बिउ, पुँजी उपलब्ध गराई उद्यमशीलताको विकास गर्न सकिन्छ । उद्यमशीलता विकासशील अर्थतन्त्रको महत्त्वपूर्ण आधारशिला हो, जसबाट जागिर खोज्ने होइन जागिर दिने जनशक्ति उत्पादन गर्न सकिन्छ ।

मित्रराष्ट्र कोरिया र यसको विकास सहायता प्रदान गर्ने निकाय ‘कोइका‘ ले नेपालको आर्थिक-सामाजिक विकासमा निरन्तर महत्त्वपूर्ण योगदान गरेको छ । कोरिया आफैँ द्रूतगतिमा आर्थिक-सामाजिक विकासको उपल्लो उचाइ हासिल गर्ने थोरै उदाहरणीय मुलुकहरूमध्ये एक हो । आफ्नो संस्कृतिलाई अक्षुण्ण राखेर आधुनिक विकासमा फड्को मार्ने त्यहाँको अनुभवबाट नेपालले सिक्ने धेरै कुरा छन् भन्ने म ठान्दछु । यस केन्द्रको निर्माण र यसलाई अत्याधुनिक उपकरणहरूसमेतले सुसज्जित बनाउन मित्रराष्ट्र कोरियाले प्रदान गरेको सहयोगका लागि पनि म विशेष आभार प्रकट गर्न चाहन्छु ।

भविष्यमा पनि खोजअनुसन्धानका नतिजाहरू, अनुभव र स्रोतसाधनहरूको आदानप्रदानमार्फत यो केन्द्रको दिगो सञ्चालन एवम् नेपालका लागि प्रतिफलदायी परिणाम प्राप्त गर्ने दिशामा निरन्तर सहकार्य हुने नै छ ।

अन्त्यमा, म यो विद्वत्सभामा मेरो उपस्थितिलाई सम्भव बनाउनुहुने यसका उपकुलपति, रजिस्ट्रारलगायत सम्पूर्ण काठमाडौँ विश्वविद्यालय परिवार र कोरिया सरकारका प्रतिनिधिलाई विशेष धन्यवाद दिन चाहन्छु ।

जय नेपाल !

२४ असोज, २०८०

धुलिखेल