एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) को ३७ औँ सम्मेलनमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले दिनुभएको मन्तव्य

पूर्वप्रधानमन्त्रीज्यू,

अर्थमन्त्रीज्यू,

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षज्यू,

क्यासीका अध्यक्षज्यू,

एसिया-प्रशान्त क्षेत्रका उद्यमी र व्यापारीहरूज्यू,

महिला तथा सज्जनवृन्द !

एसिया प्रशान्त क्षेत्रीय उद्योग परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को संयुक्त आयोजनामा नेपालमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको उद्घाटन समारोहमा गर्नुभएको आमन्त्रणका लागि धन्यवाद ज्ञापन गर्दछु । सुन्दर राष्ट्र नेपालमा सन् २०१२ पछि दोस्रो पटक यो सम्मेलन आयोजना गर्न पाउनु नेपालीको लागि खुसीको कुरा हो । यस महत्त्वपूर्ण भेलामा म सबैलाई हार्दिक स्वागत गर्दछु ।

यस सम्मेलनको विषयवस्तु “चेम्बर अफ कमर्स – व्यवसायहरूलाई भविष्यका लागि तयार पार्न मद्दत गर्दै”  ले गहिरो भाव र प्रभाव बोकेको छ । यो एक विषय मात्र होइन, यो त उज्यालो र थप समृद्ध भविष्य सुनिश्चित गर्न सामूहिक प्रयासका लागि आह्वान पनि हो ।

सम्मेलनको विषयवस्तुका मुख्य तीन स्तम्भ दिगोपन, उद्यमशीलता र व्यापार वास्तवमै समृद्ध र दिगो भविष्यका आधारशिला हुन् ।

आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशिला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रका मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन् ।

सम्मेलनको विषयवस्तुको दोस्रो स्तम्भ उद्यमशीलता हो । यो हाम्रो क्षेत्रलाई रूपान्तरण गर्ने क्षमता भएको शक्ति पनि हो । उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार पनि हो । तपाईँहरूले यो भावनालाई अगाडि बढाइरहनुभएको छ र बढाइरहनुहुनेछ भन्ने विश्वास छ ।

हाम्रो सम्मेलनको तेस्रो स्तम्भ रहेको व्यापार, हाम्रो अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा हो । यसले आर्थिक वृद्धिलाई मात्र हैन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न ऊर्जा प्रदान गर्दछ । व्यवसाय क्षेत्रका सङ्गठनहरूले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाहरूको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन् । यी गतिविधि कारोबार मात्र होइनन्, यिनले विश्वव्यापी बहुपक्षीयतावादलाई सबलीकरण गर्न योगदान गर्दछन् । फलस्वरूप पारस्परिक लाभदायक सम्बन्धमार्फत विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान गर्नेछ ।

३७ औँ क्यासी सम्मेलन नेपालको व्यापार, लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार हुन्छ । आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगत्सँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर छन् । यस सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र होइन, नेपालको आर्थिक विकास र दिगोपनका लागि उत्तिकै सान्दर्भिक छन् भन्ने म ठान्छु ।

नेपाल भौगोलिक रूपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा हो। यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूका लागि प्राकृतिक प्रवेशद्वार बनाउँछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लगायतका क्षेत्रीय व्यापार सम्झौताहरूमा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ ।

नेपालको श्रमबजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक छ । यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायहरूका लागि सम्पत्ति हो। देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार हो, जसले खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर प्रस्तुत गर्दछ ।

नेपालमा लगानीका अवसर बढ्दै गएका छन् । लगानी सहज बनाउने कानुनहरू निर्माण भइसकेका छन् । नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ। विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्त्वपूर्ण अवसर खोलेको छ । म यसै सन्दर्भमा नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईँहरू सबैलाई आह्वान गर्दछु ।

नेपाल विश्वशान्तिका महानायक गौतम बुद्धको देश मात्र होइन, यो सर्वोच्च शिखर सगरमाथालगायत अनगिन्ती हिमशृङ्खलाको पनि देश हो । प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ । यसमा आज हुने लगानीले भोलि प्रतिफल दिनेछ । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र हुन् । म यहाँहरूलाई यी क्षेत्रमा पनि लगानी बढाउन आग्रह गर्दछु ।

म सबै सहभागीसँग भविष्यलाई दिगो, नवीन र समृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्न चाहन्छु । आउनुहोस् सँगसँगै काम गरौँ, हाम्रा अन्तर्दृष्टि बाँडौँ र एकअर्कालाई हाम्रो व्यवसाय, हाम्रो समुदाय र हाम्रो संसारमा सकारात्मक प्रभाव पार्न प्रेरित गरौँ ।

आफ्नो भनाइ अन्त्य गर्नुअघि म शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरूलाई सहयोग गर्न तपाईँ सबै उद्यमी, व्यवसायीहरूलाई हार्दिक अपिल पनि गर्दछु ।

अन्त्यमा, म पुन: यो सम्मेलनको सफलतासहित तपाईँहरूको नेपाल बसाइ फलदायी होस् भन्ने कामना गर्दछु ।

जय नेपाल !

मिति : २०८० कात्तिक २०