सम्मानीय राष्ट्रपतिज्यूबाट व्यक्त राष्ट्रिय प्रजातन्त्र दिवस, २०७६ को शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७६ को शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस दिवसले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्‍ने कामना गर्दछु । आज प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि भएको संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दछु ।

निरङ्‍कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउँदै आइएको छ ।

नेपाली जनताको चाहना मुलुकको आर्थिक-सामाजिक रूपान्तरण नै हो । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिको रूपमा लिन सकिन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्न यो दिवसले थप उर्जा प्रदान गर्नेछ भन्‍ने विश्वास लिएको छु ।

अन्तमा, प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीमा दिन सकोस् भन्‍ने पुनः शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७६ साल फागुन ७ गते, बुधबार ।