सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३८ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा गर्नुभएको संबोधन

माननीय उपप्रधान एवं शिक्षामन्त्री,

माननीय मन्त्रीहरु,

माननीय सांसदहरु,

संबैधानिक निकायका प्रमुखहरु,

उपकुलपतिहरु,

राष्ट्रसेवकहरु,

विभूषित विद्यार्थी तथा अनुसन्धाताहरु,

भद्रमहिला तथा सज्जनवृन्द !

३८ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी एवं अनुसन्धाताहरुलाई विभूषित गर्ने समारोह आयोजना भएकोमा खुशी व्यक्त गर्दै शिक्षा मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु ।

आज पदक ग्रहण गर्ने सम्पूर्ण उत्कृष्ट व्यक्तिहरुमा बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दछु । यहाँहरुबाट आर्जित ज्ञान र विद्वता मुलुकको सामाजिक आर्थिक समृद्धिमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

देश विकासको आधारस्तम्भ शिक्षा हो । शिक्षाले सामाजिक, साँस्कृतिक र राजनैतिक रुपमा चेतनशील र जागरुक नागरिक तयार गर्छ भने आर्थिक रुपमा सक्षम हुने वातावरण र पूर्वाधार निर्माण गर्दछ । देशको आर्थिक विकासका लागि सीपयुक्त दक्ष जनशक्ति तयार गर्ने कार्य शिक्षाले नै गर्छ । यही मूल्यमा आधारित भई नेपालमा औपचारिक एवं अनौपचारिक पद्धतिमार्फत विद्यालयतहदेखि उच्चतह सम्मको शिक्षामा सबै नागरिकको समान पहुँचको व्यवस्था गरिएको हो । त्यसैको आधारमा
आ–आफ्नो क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकाहरुलाई यस वर्ष ३८ औँ शिक्षा दिवसका अवसरमा विभुषित गरिएको हो ।

नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर यसको कार्यान्वयन गरिरहेका छौँ । संविधान जारी भएपछि स्थानीय तहको निर्बाचन सम्पन्न हुने अन्तिम घडीमा छौँ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा जुटेका छौँ । यी सबै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानूनी व्यवस्थालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु ।

सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मूख समृद्ध एवं समुन्नत नेपाल निर्माण अबको प्रमुख कार्यभार हो । मानव अधिकारको पूर्ण संरक्षणसहित विश्व परिवेशमा शान्तिपूर्ण देशको पहिचान कायम गर्दै विकासोन्मुख देशबाट विकसित देशमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता हो । शदीयौँदेखि अभ्यासमा रहेको पूर्वीय ज्ञान, सीप र प्रविधिजस्ता महत्वपूर्ण सम्पदालाई संरक्षण तथा संवर्द्धन गर्दै तिनलाई समयानुकूल आधुनिकीकरण गरी समग्र शिक्षा पद्धति वैज्ञानिक तथा जनमुखी बनाउनुपर्ने अबको खाँचो हो ।

उच्च प्राविधिक शिक्षाले औद्योगिकीकरण, दिगो आर्थिक वृद्धि र सामाजिक रुपान्तरण सम्भव हुन्छ । उच्चस्तरीय जनशक्ति विकासका लागि उच्च शिक्षालाई सर्वशुलभ र गुणस्तरीय बनाउनु पर्दछ । प्राविधिक विषयमा नेपालमा विश्‍वस्तरीय शिक्षा सञ्चालन गर्ने परिवेश निर्माण हुँदैजानु खुशीको विषय हो । यसबाट देश तथा विश्‍वपरिवेशले खोजे र सोचे अनुसारको जीवनोपयोगी जनशक्ति उपलव्ध हुने कुरामा विश्‍वास गर्न सकिन्छ ।

नेपालको संविधानले नागरिकलाई आधारभूत शिक्षामा पहुँचका लागि अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गर्नु शैक्षिक विकासका लागि महत्वपूर्ण पाइला हो । फरक क्षमता भएका र आर्थिक रुपले विपन्नलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हकको व्यवस्था हुनु खुशीको विषय हो । नियमित रुपमा उच्च शिक्षा हासिल गर्न नसकेका तर उच्च शिक्षाको अभिलाषा राख्‍नेहरुलाई दूर शिक्षाको माध्यमबाट उच्च शिक्षा प्रदान गर्न पहल हुनु सकारात्मक विषय हो । उच्च शिक्षा प्रदायक संस्थाहरुबाट शिक्षामा गुणस्तर कायम गर्न कोशिस हुनु सामयिक हो । यस प्रसंगमा गुणस्तरीय उच्च शिक्षा उपलव्ध गराउने प्रतिबद्धता पूरा गर्न सम्बद्ध सबैलाई सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।

विनाशकारी भूकम्प र हालैको बाढि पहिरोबाट क्षत विक्षत शैक्षिक संस्थाहरुको पुनर्निर्माण कार्यलाई तीव्रता दिई सबैले सहज वातावरणमा शिक्षा आर्जन गर्ने उपयुक्त अवसर उपलव्ध गराउनुपर्ने अहिलेको आवश्यकता रहेको छ । नेपाल सरकारले गुणस्तरीय शैक्षिक विकासका लागि गरिरहेका कार्यहरुको सफलताका लागि सबै सरोकारवालाहरु प्रतिवद्ध भई लाग्नु पर्दछ । सुखी र समृद्ध नेपाल हामी सबैको चाहना भएकाले यस सदिच्छालाई साकार पार्नु हामी सबैको कर्तव्य एवं दायित्व
हो । आज शिक्षा दिवस मनाइरहेको यस महत्वपूर्ण अवसरमा पूर्ण रुपमा सुखी, समृद्ध, समुन्नत र विशिष्ट पहिचान कायम गर्न सक्षम नेपाल निर्माण अभियानमा आ–आफ्नो क्षेत्रबाट सक्दो भूमिका निर्वाहका लागि म सम्वद्ध सबैलाई आव्हान गर्न चाहन्छु ।

आज हाम्रासामू रहेको एउटा चुनौती भनेको शिक्षाआर्जन गर्न विदेशमै जान रमाउने र हासिल भएको सीप, दक्षता र अनुभवको उपयोग पनि विदेशमै समर्पित गर्ने प्रवृत्ति युवावर्गको एउटा पंक्तिमा देखिनु हो । यो समस्याको दीर्घकालीनरुपमा निवारण गर्नेतर्फ शिक्षाक्षेत्रका सरोकारवाला र नीतिनिर्माताहरुले समयमै सचेत हुनुपर्दछ । श्रम र बौद्धिकता पलायन हुने प्रवृत्तिलाई रोकी सबैलाई सामाजिक आर्थिक विकासमा सहभागी गराउने अवस्था निर्माण गर्न प्रभावकारी कार्ययोजनासहित अघि बढ्नु हाम्रो महत्वपूर्ण दायित्व हुनआएको छ ।

अन्तमा, अथक परिश्रम, लगनशीलता, धैर्यता, उच्च शिक्षाप्रतिको प्रतिवद्धतास्वरुप आफ्नो प्रतिभामा सर्वोत्कृष्टता हासिल गरी विभिन्न पदक, विभूषण तथा प्रशंसापत्र प्राप्त गर्न सफल नवप्रतिभावान् छात्रछात्रा र अनुसन्धानको उच्च  विद्यावारिधि तह पूरा गर्न सक्षम अनुसन्धाताहरुलाई पुनः एकपटक बधाई ज्ञापन गर्दछु । तपाइँहरुको विशिष्ट उच्च तहको ज्ञान, सिप र कलाकौशल देश विकासमा फलदायी हुन सकोस् भन्ने शुभेच्छासहित ३८ औँ शिक्षा दिवस २०७४ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद ।

२०७४ साल भाद्र २३ गते शुक्रबार ।