सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले इन्द्रजात्रा पर्व, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व ,२०८१ को शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकोमा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास मैले लिएको छु ।

मूलत: काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाहरूमा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा परस्पर विश्वास, सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु ।

अन्त्यमा,हाम्रो मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले प्राकृतिक श्रोतहरूको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना  गर्दछु ।

जय नेपाल !

२०८१ असोज १ गते मङ्गलबार ।

ने.सं. ११४४ ञलाथ्व १४ मङ्गलबार ।