सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट इदुल फित्र पर्व, २०७६ का अवसरमा व्यक्त शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरुको महान् इदुल फित्र पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

इस्लाम धर्मावलम्बीमा एक महिना लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्दै आफन्तहरुबीच खुशी साटासाट गरी विशेष रूपमा यो पर्व मनाउने गरिन्छ। धार्मिक तथा सांस्कृतिक विविधताकाबीच राष्ट्रिय एकता र सहिष्णुताको आदर्श नमुनायुक्त यस किसिमका पर्वहरुले नेपालीहरुकाबीच आपसी सद्‌भाव थप मजबूत हुने साथै मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान पुग्नेमा म विश्वस्त छु ।

अन्तमा, यस पर्वले सबै समुदायका नेपालीहरुका बीच राष्ट्रिय एकता, सहिष्णुता र सद्‍भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।  

धन्यवाद !

मिति २०७६ जेठ २२ गते बुधबार