जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८१ को शुभकामना सन्देश
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वि.सं. २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा हामीले मनाउँदै आएका छौँ ।
सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि हुन्छ भन्ने लाग्दछ । तथापि, समाजमा विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको पूर्णत अन्त्य हुन सकिरहेको अवस्था छैन ।
यस दिवसबाट आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडनको क्रमश: अन्त्य हुँदै जाने आधारहरू निर्माण गर्न सम्बन्धित निकायहरू सक्रिय हुनेछन् भन्ने विश्वास मैले लिएको छु ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प राखेको छ ।
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात-जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समता -सहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदको विरूद्धमा दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन म सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, नागरिक समाज र संचारकर्मीहरूलाई संवेदनशील हुन हार्दिक आव्हान गर्दछु।
अन्त्यमा, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८१ जेठ २१ गते सोमबार ।