२५६८औं बुद्ध जयन्तीको शुभकामना सन्देश
बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औं बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसा प्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महानिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्बारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा लिंदै बुद्ध जयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा-अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रमहरू गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति व्यक्त गरिन्छ ।
शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय हो । शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।
अन्त्यमा, २५६८औं बुद्ध जयन्तीको यस शुभ अवसरमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति , समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल ।
२०८१ जेठ १० गते बिहीबार ।