सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७९ लाई गर्नु भएको सम्बोधन

माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री,

प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पदाधिकारीहरू,

आज सम्मानित तथा पुरस्कृत पत्रकारहरू,

राष्ट्रसेवकहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्दै काउन्सिल परिवारलाई हार्दिक बधाई र शुभकामना प्रकट गर्दछु । साथै‚ आज पुरस्कृत तथा सम्मानित हुने पत्रकारहरूलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । राज्यको चौथो अङ्गको रूपमा समाजले सम्मान प्रदान गरेको पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण‚ सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ ।

तसर्थ‚ पत्रकारिताको पेशागत आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास एवं संवर्द्धनका लागि अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रूपमा प्रेस काउन्सिल नेपालको स्थापना भएको हो । प्रेस काउन्सिल नेपालले यसका लागि निरन्तर रूपमा भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।

प्रेस काउन्सिल नेपाल सबै पत्रकारको अभिभावक संस्था पनि हो । काउन्सिलले पत्रकार आचारसंहिताको नियमित अनुगमन गर्दै आएको छ । यसले आचारसंहिताको पालना गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र उल्लङ्घन गर्नेलाई कारबाही गर्ने समेत काम गर्दै आएको छ ।

काउन्सिलद्वारा उच्च व्यवसायिक आचरण पालना गर्ने मर्यादित पत्रकारहरूको छनौट गरी ‘गोपालदास पत्रकारिता पुरस्कार’ लगायत विभिन्न पुरस्कारबाट पुरस्कृत गर्दै आएको कुरालाई यसै सन्दर्भमा हेरिनु पर्दछ भन्ने मलाई लागेको छ ।

सूचना र सञ्चारको क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखा परेका सञ्चारका नयाँ अनलाइन माध्यमबाट झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनिरहेको छ । यस सन्दर्भमा‚ प्रेस काउन्सिल नेपालले सञ्चारका अनलाइन माध्यमहरूलाई बढी मर्यादित र प्रभावकारी बनाउनले उद्देश्यले अनलाइन दर्ता गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकोमा मलाई खुसी लागेको छ ।

यसैगरी‚ काउन्सिलले फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालमा बेथिति बढ्दै गएको हुँदा सोको नियमनका लागि समेत कार्यदल गठन गर्न र सो कार्यदलले दिएको सुझावका आधारमा आवश्यक नीतिगत निर्णय गर्न सम्बद्ध मन्त्रालयलाई सुझाव पेस गरेको कुरा मैले सुनेको छु । यस सम्बन्धमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

भरखरै हामीले आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाएका छौँ । हाम्रो संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानहरूलाई राज्यका सबै अङ्गहरूले गम्भीरतापूर्वक पालना गर्नु पर्दछ ।

हामीले केही महिनाअघि मात्र स्थानीय तहको निर्वाचन सम्पन्न गरेका छौँ भने आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुन गइरहेको छ । लोकतन्त्रको आत्माको रूपमा रहेको आवधिक निर्वाचनलाई शान्तिपूर्ण‚ निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न समाजको जागरुक समुदायको रूपमा रहेको पत्रकार जगतले प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने म विश्वास व्यक्त गर्दछु ।

अन्तमा‚ नेपालको आमसञ्चार क्षेत्रलाई व्यवस्थित‚ उत्तरदायी र मर्यादित बनाउन प्रेस काउन्सिल नेपाल आगामी दिनमा थप सशक्तताका साथ अगाडि बढ्न सकोस् भन्ने सुभेच्छा प्रकट गर्दछु । विभिन्न विधामा पुरस्कृत पत्रकार एवं व्यक्तित्वहरूलाई पुन: बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

धन्यवाद ।

२०७९ असोज ६ गते बिहीबार

राष्ट्रपति भवन‚ महाराजगञ्ज‚ काठमाडौँ