संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति सम्मान प्रकट गर्दछु ।
नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।
हाम्रो संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा उर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्दै कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकासमार्फत स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु पर्दछ । संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारहरूको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नु पर्दछ ।
नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता‚ अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक छ । देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।
संविधान जारी भएपश्चात प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको छ । आम निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न म सबै मतदाताहरूमा हार्दिक अपील गर्दछु । शान्तिपूर्ण‚ निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार‚ निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राजनीतिक दल‚ सञ्चार माध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान गर्दछु ।
अन्तमा, संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यता र मूल्य प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ ले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ साल असोज ३ गते सोमबार ।