सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्चमीको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

 

मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको यस पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धार्मिक तथा साँस्कृतिक विविधता युक्त हाम्रो संस्कृति हामी नेपालीका अमूल्य नीधिहरु हुन् । हाम्रो देश धार्मिक, साँस्कृतिक विविधताले सम्पन्न रहेको छ । प्राचीन साँस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्‍याएको छ । यसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ ।

आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौं युग देखि हुँदै आएको
छ । यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ । यसले हामीलाई सँधै गौरवान्वित बनाइरहन्छ ।

अन्तमा, विभिन्न क्षेत्र र भूभागमा वसोवास गर्ने थुप्रै आस्था र विश्वास बोकेका सम्प्रदायहरुको उत्साहपूर्वक सहभागिता हुने यस पावन अवसरमा नेपालीहरु बीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‍भाव, सहिष्णुता र असल छिमेकी सम्बन्ध सुदृढ बनाउन मद्दत पुगोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

२०७५ साल मंसिर २६ गते बुधबार ।