सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सहिद दिवस, २०७८ को अवसरमा दिनुभएको सन्देश

सहिद दिवस, २०७८ को सन्देश

सहिद दिवस, २०७८ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण
गर्दछु ।

सहिद दिवस देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूको सम्झना गर्दै हरेक वर्ष माघ १६  गते सहिद दिवसको रूपमा मनाइँदै आइएको छ ।

यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा  पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्‍वास लिएको छु ।

अन्तमा, वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा लिएको छु ।

धन्यवाद ।

२०७८ माघ १६ गते आइतबार ।