सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्‍चितता” (Empowering persons with disabilities and ensuring inclusiveness and equality) भन्ने मूल नारा तथा “मलाई गणना गर, समावेश गर” भन्‍ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु पर्दछ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रबर्द्धनका लागि विभिन्‍न कामहरु भैरहेका छन् तापनि संयुक्त राष्ट्रसंघीय अपाङ्गता सम्बन्धी महासन्धीमा उल्लेखित अधिकारहरु सुनिश्‍चितताका लागि अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाको लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी छ ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना, अपाङ्ग मैत्री कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रकृयामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता जस्ता विषयहरुलाई आत्मसात गरी श्रोत, साधन लगायत आवश्यक कुराहरुको प्रवन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजाने तर्फ हामी सबैले ध्यान केन्द्रित गर्नु पर्छ भन्‍ने मलाई लाग्छ।

अन्तमा, अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा यस क्षेत्रमा काम गर्ने नागरिक समाज, अपाङ्गता भएका व्यक्तिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था सबैलाई यस क्षेत्रमा अझ क्रियाशिल भई कार्य गर्न थप उत्प्रेरणा मिलोस् भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

२०७५ साल मंसिर १७ गते सोमबार ।