सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को समुद्घाटन समारोहका अवसरमा गर्नुभएको सम्बोधन

जिल्ला समन्वय समिति महासंघ नेपालले आफ्नो तेस्रो राष्ट्रिय परिषद्को आयोजना गरेकोमा धन्यवाद दिँदै कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु । यस बैठकमा महासंघलाई विगतमा आफूले गरेका कार्यहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाहरु तर्जूमा गर्न सफलता मिल्ने विश्वास लिएको छु ।

जनताको लामो संघर्षद्वारा मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले जनप्रतिनिधिमूलक संस्थाको नेतृत्वमा सहभागितात्मक विकासको अवधारणालाई आत्मसात गरेको छ । संघीयताको कार्यान्वयन गरी आर्थिक रूपान्तरणको प्रक्रियामा मुलुक अगाडि बढिसकेको परिस्थितिमा नागरिकका लागि लक्षित सेवा प्रवाहले उनीहरूको आर्थिक, सामाजिक जीवन—पद्धतिमा के कस्तो परिर्वतन ल्यायो ? उपलब्धीको मात्राको दृष्टिले तथा समय र आर्थिक लगानीको हिसाबले सन्तोष गर्न सकिने अवस्था भएको छ वा छैन जस्ता विषयमा जनप्रतिनिधिमूलक निकायको ध्यान पुग्नु पर्दछ ।
संयुक्त राष्ट्रसंघद्वारा निर्धारित सन् २०३० सम्ममा हासिल गरिनु पर्ने दिगो विकास कार्यसूचीले महिला, युवा तथा सिमान्तकृत समुदायको सहकार्य र साझेदारीद्वारा समावेशी विकासको सिद्धान्तलाई आत्मसात गरेको परिवेशमा महासंघ सहित सबै जनप्रतिनिधिमूलक निकायले सो अनुकूलको भूमिका निर्वाह गर्नु पर्दछ ।

हाम्रो अर्थतन्त्रको मूल आधारको रूपमा रहेको कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्दछ । देशभित्र अवसर नपाई विदेशिन बाध्य युवाका लागि सीपमूलक तालिमको व्यवस्था गरी गुणस्तरीय रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने खाँचो रहेको छ ।

एकातिर हामीले मुलुकको समग्र विकास प्रक्रियालाई नागरिकको आकांक्षा अनुरूप तीब्रता दिनु पर्ने खाँचो छ भने अर्कोतिर विकासमा नयाँ चुनौतीहरूको सामना गर्नुपरिरहेको छ । उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै वातावरणमैत्री हरित विकासका लागि हामी सबैले अग्रसर हुनुपर्दछ । यस सन्दर्भमा महासंघले २०७५ साल पौषमा सिन्धुपाल्चोक जिल्लामा आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनलाई म यहाँ स्मरण गर्न चाहान्छु । यो विषय जिल्लाहरूले उच्च प्राथमिकतामा राखेको मलाई लागेको छ ।

मुलुकले अवलम्बन गरेको संघीय प्रणाली अन्तर्गत संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहनुका साथै संविधानले जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था गरेको छ । संविधान बमोजिम जिल्ला सभालाई जिल्लाभित्रका पालिकाहरू बीच समन्वय गर्ने, विकास निर्माणसम्बन्धी कार्यमा अनुगमन गर्ने, जिल्लामा रहेका संघीय र प्रदेश सरकारी कार्यालयसँग गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने काम, कर्तव्य र अधिकार दिइएको छ । जिल्ला समन्वय समितिलाई संविधान तथा कानूनद्वारा प्रदत अधिकार तथा दायित्वलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने स्रोत र साधन नेपाल सरकारले उपलब्ध गराउँदै आएको छ । नागरिकको आकांक्षा, देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको पहिचान र परिचालनको सम्भावना र सामथ्र्यको आँकलन गर्दै जनप्रतिनिधिमूलक संस्थाहरूले आफ्ना योजनाहरू बनाउनु पर्दछ ।

मुलुकको सर्वाङगीण रूपान्तरणका लागि भौतिक सँगसँगै मानवीय विकास हाम्रो प्राथमिकतामा पर्नु पर्दछ । बालविवाह, बहुविवाह, दाइजो–तिलक प्रथा, बोक्सीप्रथा, छाउपडीजस्ता सामाजिक र सांस्कृतिक विकृतिका साथै घरेलु हिंसा, बलात्कार, महिला तथा बालबालिका बेचविखन लगायतका सामाजिक अपराधको समूल अन्त्य गर्नु आवश्यक छ । जनप्रतिनधिमूलक संस्थाहरूले शिक्षा, सचेतना सामाजिक जागरणको अभिवृद्धि गर्दै सभ्य र समतामूलक समाज निर्माणमा योगदान गर्नुपर्दछ ।

सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि राज्यले विविध ढङ्गले लगानी बढाउँदै आएको छ । यसको बारेमा समुचित सदुपयोग भए नभएको र पर्याप्त भए नभएको जनप्रतिनिधि संस्थाहरूले अनुगमन मूल्याङ्कन गर्न सक्छन् । विद्यालयका विद्यार्थीहरूलाई उपलब्ध गराइँदै आएको दिवा खाजाको लागि स्थानीय उत्पादनलाई समावेश गर्ने विषयमा जनप्रतिनिधिमूलक संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक सहकार्य र समन्वय पनि आवश्यक देखिन्छ । बालबालिकाको स्वास्थ्य र बौद्धिक विकासका लागि पौष्टिक आहारको व्यवस्था गर्न र त्यसका लागि सहज वातावरण निर्माणमा नेतृत्वदायी पहल र भूमिकाको म अपेक्षा गर्दछु ।

विगत करिब दुई वर्षदेखि सम्पूर्ण विश्वलाई नै आक्रन्त बनाएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय तहहरूले खेलेको भूमिकाको म सराहना गर्दछु । यो महामारी पूर्ण रूपमा अझै नियन्त्रणमा आइ नसकेकाले सावधानी अपनाउँदै जनताका दैनिक गतिविधिलाई सहज बनाउन जनप्रतिनिधिहरूले ध्यान पुर्‍याउन हार्दिक आव्हान गर्दछु ।

जिल्ला समन्वय समितिहरूको छाता संस्थाको रूपमा विगत २६ बर्षदेखि सक्रिय रहेको जिसस महासंघले तेस्रो राष्ट्रिय परिषद् बैठकवाट भावी कार्यदिशाको निरूपण गर्ने र समय अनुकूल नेतृत्व प्राप्त गर्ने विश्वाश व्यक्त गर्दछु ।

सरकारको सहयात्रीका रूपमा रहेको महासंघ नागरिकको रोजाईमा समेत पर्नेछ भन्ने विश्वासका साथ तपाईँहरू सबैलाई र तपाईँहरू मार्फत समस्त जनसमुदायलाई आसन्न बडा दशैँ लगायतका राष्ट्रिय पर्वहरूको हार्दिक मंलगमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद  ।

२०७८ आश्विन १५ गते शुक्रबार ।

राष्ट्रिय सभागृह, काठमाडौँ