सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले स्वदेशी तथा विदेशी क्रिकेट खेलाडी तथा पदाधिकारीसँगको शिष्टाचार भेटका अवसरमा गर्नुभएको सम्बोधन

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव,
ख्यातिप्राप्त स्वदेशी तथा विदेशी खेलाडीहरू,
खेल पत्रकारहरू,
राष्ट्रसेवकहरू,
भद्र महिला तथा सज्जनवृन्द ।

भोलिदेखि सुरु हुने नेपालको महत्वपूर्ण व्यावसायिक क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल) आरम्भ हुन गइरहेको अवसरमा क्रिकेट जगतका प्रसिद्ध खेलाडीहरूलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ । पछिल्ला वर्षमा नेपालले क्रिकेटमा हासिल गरेको सफलता उल्लेखनीय छ । निजी क्षेत्रबाट सञ्चालन हुने इपीएल जस्ता प्रतियोगिताले क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान गरेका छन् । प्रतियोगिताको सफलताको लागि म अग्रिम शुभकामना दिन चाहन्छु ।

दक्षिण एसियाका मुलुकहरूमा क्रिकेट लोकप्रिय र प्रतिष्ठित खेल रहेको हुनाले नेपालमा यसको विकासको लागि प्रशस्त सम्भावनाहरू छन् । इपीएल जस्ता प्रतियोगिताको आयोजना हुनु नेपाली राष्ट्रिय पुरुष र महिला दुवै क्रिकेट टोलीका लागि अनुभव हासिल गरी व्यावसायिकता विकासका लागि मद्दत पुग्ने मलाई विश्वास लागेको छ । नेपाली खेलाडीले विश्व चर्चित खेलाडीसँग खेल्न पाउँदा आफ्नो खेलको स्तर उकास्न र भविष्यमा अझ उन्नत प्रदर्शन गर्न सहयोग पुग्नेछ भन्ने अपेक्षा लिएको छु । क्रिकेट सहित समग्र खेल क्षेत्रको विकास गर्दै प्रतिष्पर्धी बनाउन यस क्षेत्रमा राज्यले गुणात्मक रूपमा लगानी बढाउनु पर्ने आवश्यकता मैले महसुस गरेको छु ।

नेपाल प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक रूपमा सम्पन्न छ । यहाँको वातावरण र मौसम क्रिकेट खेलको लागि पनि उपयुक्त छ । खेलकुदका भौतिक पूर्वाधार विकास गरी हाम्रो मुलुकलाई क्रिकेट खेलको महत्वपूर्ण गन्तव्यको रूपमा विकास गर्न सकिने ठूलो सम्भावना रहेको छ ।
क्रिकेट खेलको विकासका माध्यमबाट खेल पर्यटनमा समेत टेवा पुग्ने हुँदा हामीले आफ्नो कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने सुनौलो अवसर प्राप्त गर्न सक्छौँ । नेपाली क्रिकेटको विकासमा यस पटक आउनु भएका चर्चित खेलाडीहरूसँग सम्बन्ध स्थापित गर्दै भविष्यमा पनि त्यसको सदुपयोग गर्न खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् लगायत सम्बन्धित सबैको ध्यान केन्द्रित भएको मैले विश्वास लिएको छु ।

खेलको प्रतिष्ठा र लोकप्रियता खेलाडीले गर्ने प्रदर्शनले मात्र नभई खेलको अनुशासन पालनाका साथै उपलब्ध स्रोत साधनले पनि निर्धारण गर्ने गर्दछ । क्रिकेटको अन्तर्राष्ट्रिय स्तरका संरचना विकास गर्न खेलकुद क्षेत्रको अहिलेको पहिलो प्राथमिकता हो । यसतर्फ सबैको ध्यान जानु आवश्यक छ । निजी क्षेत्रले गरेका यस्ता प्रयासमा सरकारी स्तरबाट सक्दो सहयोग हुन पर्दछ । तपाईँहरूको नेपाल बसाई सुखमय रहोस् । राम्रो खेल प्रदर्शन गर्ने हौसला मिलोस् । सबैलाई शुभकामना ।

२०७८ आश्विन ८ गते, शुक्रबार ।

राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौँ ।