आज अगष्ट १२ तारिखका दिन संयुक्त राष्ट्रसंघको आव्हानमा ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल संकल्पका साथ अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदै छ । यस दिवसले नेपाली युवाहरूमा सकारात्मक परिवर्तनका लागि सिर्जनात्मक सोचकासाथ अग्रसर हुन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।
चेतना र जागरणका संवाहक युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्य लिएर स्थापित राष्ट्रिय युवा परिषद्ले विविध सिर्जनात्मक क्रियाकलापहरू गर्दै आएकोमा खुसी लागेको छ । युवा शक्ति देशको शक्ति हो । युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको हुन्छ । युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र सामाजिक आर्थिक प्रणाली नै अवरुद्ध हुन पुग्दछ । मुलुकको सामाजिक आर्थिक प्रणालीसँग जलवायु परिवर्तनको मुद्दा अभिन्न रूपले जोडिएको छ ।
हरितगृह ग्यासको उत्सर्जनमा भएको बृद्धिबाट विश्व्यापी तापमान बढ्न गई जलवायु संकट उत्पन्न भएको छ । जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल पनि रहेको छ । यसबाट हाम्रो हिमालय क्षेत्रको तापमानमा बृद्धि भई हिमालहरू पग्लने, हिमतालहरू विष्फोट हुने र सम्पूर्ण जनजीवन नै अस्तव्यस्त हुने संभावना बढेर गएको छ । यसका साथै अप्रत्यासित बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, हिउँ विहीन हिमाल, शीतलहर, प्राकृतिक तापमानमा अस्वाभाविक बृद्धि आदिका कारण प्राकृतिक सन्तुलनलाई समेत खल्बल्याएको छ । वन विनाश, भू–क्षय, आगलागी र प्रदूषणले जनजीवन थप प्रभावित बन्न पुगेको छ । त्यसैले जलवायु परिवर्तनका नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न युवा समुदायले विशेष पहल लिनु पर्दछ ।
कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटालाई न्यूनीकरण गर्न युवालाई कृषि क्रान्तिमा सामेल गराउनु पर्दछ । खाद्य उत्पादनमा ह्रास, असुरक्षित खाद्य व्यवस्था, खानाको गलत प्रयोग र पोषणयुक्त खानाको कमीले मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । हाम्रो खाद्य प्रणालीमा रूपान्तरणका लागि खाद्य वस्तुको उत्पादन, संरक्षण, वितरण र उपयोगमा युवाको नवीन सोचको प्रयोग हुन सके मानव स्वास्थ्य सुरक्षित हुनेछ भन्ने मलाई लागेको छ ।
राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखी युवाको क्षमता विकासद्वारा उनीहरूमा रहेको सोच, ऊर्जा र साहसलाई भरपुर उपयोग गर्न सक्नु पर्दछ । दिगो विकासको लक्ष्य हासिल गर्न स्वदेशमै रोजगारीको सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु पर्छ । युवाको ठूलो पंक्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्र विकासका लागि समेत प्रतिकूलता सिर्जना हुन पुग्दछ । युवाहरू रोजगारीका निम्ति विदेशिँदा हाम्रा कतिपय सामाजिक साँस्कृतिक मूल्य मान्यतामा विचलन आएको छ भने पारिवारिक सुख र शान्तिमा पनि खलल पुगिरहेको छ । सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनाका साथै स्वास्थ सुरक्षा र नोकरी समेत असुरक्षित हुने भएकाले युवालाई सीपयुक्त र गुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनु आजको आवश्यकता भएको छ ।
गत वर्षबाट कोभिड–१९ जस्तो महामारीका कारण मानव स्वास्थ्यमा अर्को चुनौती थपिएको छ । फलस्वरूप कृषि प्रणालीमा प्रतिकूलता थपिएको छ भने, खाद्यान्न उत्पादन, वितरण र उपभोगमा समेत समस्याहरू पैदा भएका छन् ।
नवीन सोचका माध्यमबाट खाद्य प्रणालीमा रूपान्तरण तथा वातावरण संरक्षण गर्दै नेपाली समाज र सिङ्गै भूमण्डलीय स्वास्थ्य संरक्षणमा योगदान पुर्याउन युवा समुदायलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७८ साल साउन २८ गते विहीबार ।