सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री गणेश र श्री भैरवको संकल्प पूजा सम्पन्न

असार ३१¸ काठमाडौँ ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जीवित देवीको रूपमा मानिने श्री कुमारीको रक्षार्थ स्थापना गरिएका श्री गणेश र श्री भैरवलाई प्रतिस्थापन गरिएको अवसरमा आयोजित संकल्प पूजा सम्पन्न गर्नुभएको छ ।

शाक्य महाविहार संघको तर्फबाट आयोजना गरिने संकल्प पूजा राष्ट्र प्रमुखले गर्नुपर्ने परम्पराअनुसार विहिबार राष्ट्रपति भवन¸महाराजगञ्जमा सम्पन्न भएको हो ।

नेपाल सम्वत् ८७७ (वि.सं. १८१३) मा काठमाडौँका राजा जयप्रकाश मल्लको शासनकालमा भाद्र शुक्ल पक्षका दिन तलेजु भवानीको प्रतीकको रूपमा शाक्य वंशका कुलपुत्रीहरू मध्येबाट छनौट गरी जीवित देवीको रूपमा श्री कुमारीको स्थापना भएको हो । श्री कुमारीको रक्षार्थ शाक्य वंशकै कुलपुत्रहरू मध्येबाट श्री गणेश र श्री भैरव स्थापना गरि रथ तान्ने प्रचलनअनुसार हरेक वर्ष इन्द्रजात्रा (येँया: जात्रा) सम्पन्न हुँदै आएको छ ।

भाद्र शुक्ल द्वादशीदेखि इन्द्रध्वज पतनसम्मका आठदिन इन्द्रजात्रा मनाइने परम्परा रहिआएको छ । हाल कायम रहनु भएका जीवित देवताहरू श्री गणेश र श्री भैरव युवावस्थामा प्रवेश भएपछि शाक्यहरूको १६ विहारहरूबाट छनौट हुनु भएका नवस्थापित श्री गणेश र श्री भैरवको संकल्प पूजा सम्माननीय राष्ट्रपतिज्यूबाट सम्पन्न भएको हो ।