सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्‍चमीको अवसरमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश

माता सीता र भगवान् रामको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु ।

प्राचीन कालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्व रहेको छ । प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्या आरती गर्ने, रामायणमा वर्णन भएका घटनाहरूको स्मरण एवम् कथा वाचन गर्ने परम्परा रही आएको छ । यसैगरी विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने समेत परम्परा रहेको छ ।

यस वर्ष कोभिड-१९को महामारीका कारण हाम्रा धार्मिक तथा सांस्कृतिक पर्वहरू प्रभावित भएका छन् । पर्वको समयमा सामाजिक अन्तरक्रिया बढ्ने हुनाले कोरोनाभाइरसको संक्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आव्हान गर्दछु ।

नेपाली समाज ऐतिहासिक कालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र हो । मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाह पञ्चमी पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्‌भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्‍वास लिएको छु ।

मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न विवाह पञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७७ पुस ४ गते, शनिबार ।