सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त अन्तर्राष्ट्रिय महिला दिवस, २०२० को शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवस, २०२० को शुभकामना सन्देश

११०औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा समानताको पुस्ताअन्त्य गरौँ हिंसा, विभेद असमानता भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । यस उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्ने महसुस गरेको छु ।

नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्‍याउने जस्ता विषयहरू महिलाको हक संरक्षण र सम्वर्द्धनमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजना सहित नेपाल सरकार अगाडि बढिरहेको छ ।

अन्तमा, यो दिवसले लैंगिक समानताका विषयलाई आत्मसात गर्न लैंगिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

धन्यवाद ।

२०७६ फागुन २५ गते, आइतबार