सम्माननीय राष्ट्रपतिज्यू संविधान दिवस, २०७३ का अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोजमा सरीक

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रिय दिवसका रुपमा रहेको संविधान दिवस, २०७३ का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका महामहिम राजदूत तथा कूटनीतिक नियोग प्रमुख दम्पतीका लागि राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७३ साल असोज ३ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोज कार्यक्रममा सरीक हुनुभयो । उक्त समारोहमा आमन्त्रित सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले जनताका लागि जनताद्वारा बनाइएको यो पहिलो संविधानले समतामूलक र न्यायपूर्ण समाज सृजनाको लक्ष्य लिएको हुनाले आम जनता, राजनीतिक दल र सरकारको प्रमुख दायित्व संविधानको प्रभावकारी कार्यान्वयन गर्नु नै रहेको बताउनु भयो । सम्बोधन कै क्रममा सम्माननीयज्यूले लोकतान्त्रीकरणको प्रकृया अगाडि वढाउने, संवैधानिक प्रणालीको सुदृढीकरण गर्ने तथा देशको द्रूततर सामाजिक आर्थिक विकास गराउने हाम्रो कार्यमा मित्रराष्ट्रहरुबाट प्राप्त सद्‌भाव र शुभेच्छाका लागि धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित कार्यक्रममा उपस्थितिका लागि सबैलाई धन्यवाद दिनुभयो । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, माननीय उपप्रधानमन्त्री तथा माननीय मन्त्रीज्यूहरु, पूर्व विशिष्ट पदाधिकारीज्यूहरु, माननीय राज्यमन्त्रीज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपालका लागि विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधीज्यूहरु, नेपाल सरकारका उच्च अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

(ध्रुवराज आचार्य)

सहायक प्रवक्ता