सम्माननीय राष्ट्रपतिज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ को अवसरमा “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक

आज मिति २०७३ साल असोज १९ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस, २०१६ का अवसरमा आयोजित “राष्ट्रपतिसँग बालिका” कार्यक्रममा सरीक हुनुभयो। समग्र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको सो कार्यक्रममा २० जिल्लाका ४० किशोरीहरुले ‘नेतृत्वमा बालिका अभियान’ अन्तर्गत ‘बालिका संसद’ को अभ्यास गर्दै नेपालमा किशोरीहरुले भोगिरहेका चुनौति र तिनको समाधानमा केन्द्रित रहेर नमूना नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेतृत्वको लागि लगनशीलता र निस्वार्थ भावना अनि त्यागको आवश्यकता औंल्याउदै पांचौ अन्तर्राष्ट्रिय बालिका दिवसको शुभकामना व्यक्त गर्नुभएको । सन्जालकी अध्यक्ष मोनिका रानाभाटले संचालन गरेको सो कार्यक्रममा ब्यवस्थापिका-संसदको बिकास समितिका अध्यक्ष श्री रबिन्द्र श्रेष्ठले बालिका  किशोरीहरुले  अवसर पाएमा आजैबाट उनीहरु  समाज र देशमा कुनैपनि  नेतृत्व लिन तयार  हुन सक्तछन्, त्यसैले अवसर  दिनुपर्छ  भन्नेकुरामा  जोड  दिनुभएको थियो। कार्यक्रममा सरकारी तथा गैरसरकारी क्षेत्र र बालअधिकारको क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरुको समेत उपस्थिति थियो। संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय बालिका दिवस, २०११ देखि हरेक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गरी अक्टोबर ११ का दिन संसारभर मनाउने गरेको छ । यो बर्षको बालिका दिवस किशोरीहरुको समग्र विकासमा केन्द्रित छ ।

 

(हरिप्रसाद दवाडी)

उपसचिव

Save

Save

Save