संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित नेपाल भ्रमण वर्ष, २०२० को समुद्‍घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नु भएको सम्बोधन

राष्ट्रियसभाका सम्माननीय अध्यक्ष,

पूर्व प्रधानमन्त्रीहरू,

माननीय मन्त्रीहरू,

माननीय प्रदेश मुख्यमन्त्रीहरू

मित्र राष्ट्रबाट पाल्नुभएका पर्यटनमन्त्रीहरू,

संवैधानिक आयोगका प्रमुखहरू,

माननीय सांसदहरू,

कूटनीतिक नियोगका पदाधिकारीहरू,

राष्ट्र सेवकहरू ,

सञ्चारकर्मीहरू,

उपस्थित भद्र महिला तथा सज्जनवृन्द,

पर्यटनलाई आर्थिक समृद्धिको आधारको रूपमा अंगीकार गरी राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्न लागिएको नेपाल भ्रमण वर्ष २०२० को पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

नेपालमा पर्यटन विकासको सन्दर्भमा आजबाट शुरु भएको यो अभियान सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अगाडि बढ्ने छ भन्ने विश्वास मैले लिएको छु ।

नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । हामी हाम्रा अमूल्य स्रोत र सम्भाव्यताहरूलाई मनन् मात्र हैन उजागर गर्न लागि लागिपरेका छौं । यो राष्ट्रिय अभियानलाई सफल पार्न हामी सबै नेपाली एकजुट भएर लाग्नु पर्ने आवश्यकता छ ।

विगत दुई दशकदेखि राजनीतिक द्वन्द्व र अस्थिरताले सिथिल भएको नेपालको सामाजिक-आर्थिक विकासको यात्रालाई हामी यस अभियानमार्फत् तीव्रता दिने लक्ष्यमा छौं ।

हाम्रो पर्यटन विकासको प्रारम्भिक अवस्थालाई हेर्ने हो भने अलि भिन्न स्थिति हामी पाउँछौँ ।

हामीले पर्यटक ल्याउने योजना बनाएर यहाँ पर्यटक आउन थालेको नभई पर्यटक आउन थालिसकेपछि त्यहीँअनुरुप आफूलाई तयार बनाउँदै गएको पाइन्छ ।

तर अब गन्तव्य-गन्तव्यबीच प्रतिस्पर्धा र रुचिमा विविधीकरणका कारण योजनाबद्ध पर्यटन विकास गर्न सकिएन भने पर्यटन उद्योगको दिगो विकासको कुरा कठिन बन्दै जानेछ ।

वास्तवमा आज पर्यटकहरू आरामदायी गन्तव्यभन्दा पनि नयाँ अनुभव अनुभूत गर्न पाइने गन्तव्य रोज्दै हिँड्ने गरेको पाइन्छ ।

हाम्रो देश सांस्कृतिक र प्राकृतिक हिसाबले विविधितायुक्त भएकाले हरेक खालका पर्यटकहरूलाई आकर्षित गर्नसक्ने क्षमता राख्दछ ।

यस सन्दर्भमा भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्न सक्ने गरी हामीले काम गर्नु पर्दछ ।

संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी, चितवन र अन्नपूर्ण मात्रै हैन, पर्यटकहरूले अत्यन्तै चासोका साथ घुम्न रुचाउने थुपै्र गन्तव्य स्थलहरू हामीसँग छन् ।

हामी नेपालीहरूमा अन्तरनिहित ‘अतिथिदेवो भवः’को भावना पर्यटकहरूले सबैभन्दा बढी रुचाउने पक्ष हो । अतिथिलाई देवता सरह मान्ने हाम्रो यो असल संस्कृतिलाई हामीले जोगाई राख्नु पर्दछ । पर्यटन प्रवद्र्धन र विकासका लागि यो हाम्रो सबैभन्दा मार्मिक पक्ष हो भन्ने मलाई लागेको छ ।

हामीकहाँ भएका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई संरक्षण गरी पर्यावरणमैत्री बनाएर भौतिक सुविधाहरूलाई पनि यथेष्ट रूपमा विकास गर्न सक्नु पर्दछ । आधुनिक सुविधाका साथै प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको सम्मिश्रणबाट पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ ।

हामीसँग हिमाल, पहाड, नदीनाला, तालतलैया, पोखरी, गुफा र छहरा जस्ता प्राकृतिक सम्पदाहरू प्रचूर मात्रामा रहेकाले पदयात्रा, आरोहण र साहसिक खेलको प्रचुर सम्भावना रहेको छ । यसलाई हामीले भरपूर सदुपयोग गर्न आवश्यक छ ।

काम गरेपछि त्यसको प्रतिफल पाइन्छ भन्ने कुराको उदाहरण हामी आफैसँग छ । यसभन्दा पहिले बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने हाम्रो अभियानका कारण मुलुकमा नयाँ गन्तव्यको विकास गर्न हामी सक्षम हुँदै गएका छौँ ।

यसै प्रयासस्वरुप अहिले देशका विभिन्न भागमा पर्यटन र पर्यावरणमैत्री होमस्टेहरू सञ्चालित भएका हुन् भन्ने मेरो बुझाइ छ ।

प्रकृतिलाई नासेर बिगारेर हैन, साँचेर सिँगारेर पर्यटन उद्योग र आर्थिक विकासका अभियानहरू सञ्चालन गरिनु पर्दछ । सकेसम्म पर्यटकहरूको खानपान र प्रयोगका वस्तुहरू देशभित्रै उत्पादन गर्ने सकेमा पर्यटन उद्योगबाट प्राप्त आम्दानी आम जनताको पहुँचमा पु¥याउन सकिन्छ ।

हामीले पर्यटन वर्ष २०२० मनाइरहँदा नाफा आर्जन र व्यवसाय अभिवृद्धि गर्ने सोंच मात्र हैन, त्यसको साथै यस अभियानले ‘बसुधैव कुटुम्बम्’ भन्ने हाम्रो आदर्शलाई आत्मसात गर्दै विश्वमा मानवता, भातृत्व र शान्तिप्रतिको हाम्रो प्रतिबद्धतालाई उजागर गर्ने उद्देश्य राख्नु पर्दछ ।

पर्यटन उद्योगको विकासमार्फत देशलाई समृद्ध बनाउने उद्देश्यका साथ अघि सारिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउनु हामी सबैको दायित्व हो ।

हाम्रो यस अभियानलाई साथ दिन हाम्रा मित्रराष्ट्रहरूबाट पाल्नुभएका  मित्रहरूको शुभेच्छाका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँहरूको नेपाल बसाइ सुखद् रहोस् भन्ने कामना गर्दछु ।

पर्यटन वर्ष २०२० को सन्दर्भमा, पर्यटन क्षेत्रले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्पका साथै दिगो विकासका लक्ष्यहरू समेत हासिल गर्न ठूलो योगदान पु¥याउने अपेक्षा राखिएको छ ।

अन्तमा, भ्रमण वर्ष २०२० शुभारम्भको यो पहिलो दिनमा अङ्ग्रेजी सम्वत्‌को नयाँ वर्षको पनि हार्दिक शुभकाना दिन चाहन्छु ।

धन्यवाद ।

दशरथ रंगशाला, २०७६ साल पौष १६ गते बुधबार