विश्व हात धुने दिवसको शुभकामना सन्देश
आज ‘विश्व हात धुने दिवस’ (अक्टोबर १५) का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउँदै आइरहेका छौँ । सरसफाइ गुरूयोजना, पूर्ण सरसफाइ मार्गदर्शन, स्वास्थ्य र शिक्षासम्बन्धी नीतिगत व्यवस्था, खानेपानी र सरसफाइसम्बन्धी संवैधानिक व्यवस्था आदिले सफाइ र स्वच्छतालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ ।
साबुनपानीले २० सेकेन्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुहरूद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनहरूले देखाएका छन् । हाल विश्वव्यापी स्वास्थ्य समस्याका रूपमा रहेको कोरोना भाइरसलाई निस्क्रिय बनाई यसको सङ्क्रमणमा कमी ल्याउने तीन महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक हो ।
हामीले जोखिमपूर्ण अवस्थाहरू जस्तै चर्पी प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहोर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्दछ ।
कोभिड-१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्दछ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य छ । यस सन्दर्भमा आश्विन १३ देखि कात्तिक १४ गतेसम्मको एक महिना तीनै तहका सरकार र सरोकारवालाहरूको साझेदारीमा हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधै साथसाथ भन्ने संकल्पका साथ देशभरि सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको छ ।
कोभिड-१९ बाट आफू बच्न र अरुलाई पनि बचाउनका लागि हातको स्वच्छता सम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता छ । घर, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिक स्थल आदिमा साबुनपानीले हात धुने सुविधा, सो सम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास र विस्तारमार्फत हातको स्वच्छतासम्बन्धी नियमित व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु ।
२०७७ असोज २९ गते बिहीबार ।