सन्दर्भ: चुरे संरक्षण दिवस¸ २०७८
करोडौँ वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाडहरूको श्रृङ्खला नै चुरे हो । तराईको समतल भू–भाग सकिएर माथि उठेको होचो पहाडी भू–भाग तथा मध्य–पहाडी क्षेत्रबाट दक्षिणतर्फ ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे वा शिवालिक पर्वत रहेको छ । पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३७ वटा जिल्लाहरूमा फैलिएको चुरे क्षेत्रले नेपालको कुल भू–भागको १२.७८ प्रतिशत क्षेत्रफल ओगटेको छ । चुरे क्षेत्रको भू–भाग सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र हाम्रो देशका प्राय: सबैजसो नदीहरू यही क्षेत्र भई तराईतर्फ बग्ने हुँदा चुरे पहाडको श्रृङ्खला प्राकृतिक रूपले अत्यन्त संवेदनशील रहेको छ । जैविकविविधतामा धनी‚ दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्गको रूपमा रहेको यो क्षेत्र हाम्रो सभ्यता¸ संस्कृति र जीवन पद्धतिसँग अभिन्न रूपमा गाँसिएको छ ।
चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको प्रवर्द्धनद्वारा चुरे आसपासका जनताको जीवनस्तर सुधार गर्ने उद्देश्य सहित नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयनको सुरूवात गरेको थियो । यसलाई अझ सशक्त ढङ्गले अघि बढाउन चुरे क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गर्न नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यान्वयन गरिरहेको छ । सरकारबाट चुरे-तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरु योजना स्वीकृत भई २०७१ साल असार २ गते राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको गठन भएको थियो । हाल सोही समितिमार्फत् कार्यक्रम कार्यान्वयन भइरहेको छ । यही दिनलाई प्रत्येक वर्ष चुरे संरक्षण दिवसको रूपमा मनाउने क्रममा आज हामी सातौँ चुरे संरक्षण दिवस मनाउँदै छौं ।
चुरे समिति गठन गरी चुरे संरक्षण कार्यक्रम कार्यान्वयन भएपछि भूमिगत जल पुनर्भरण, मानव सहितको जैविक विविधता संरक्षण, जमिन र बस्तीको संरक्षण, स्थानीय जनताको जीविकोपार्जन सुधारका क्रियाकलाप सञ्चालन गर्न वैज्ञानिक आधार तयार गर्नका लागि आवश्यक खोज तथा अध्ययनहरू सम्पन्न भएका छन् । यसले कार्यक्रमलाई थप गतिका साथ अघि बढाउन मार्ग प्रशस्त गरेको छ । चुरे क्षेत्रमा रहेको वन, वन्यजन्तु, कृषियोग्य जमीन, माटो, पानी, चट्टान, घाँसे मैदानहरूको व्यवस्थापनका साथै समग्र चुरे क्षेत्रलाई एउटा व्यवस्थापन एकाइ मानी यसका विभिन्न पक्षहरूको एकीकृत व्यवस्थापनमा जोड दिनु आवश्यक छ ।
प्रकृतिको अत्यधिक दोहन गर्ने मानवीय व्यवहार नै चुरे क्षेत्रमा जोखिम पैदा गर्ने प्रमुख कारक हो । तसर्थ, यहाँको जैविकविविधता, पारिस्थितिकीय प्रणाली र भौगर्भिक संवेदनशीलतालाई ध्यानमा राखी जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट मुलुकलाई जोगाउने अभिभारा पूरा गर्न चुरे संरक्षणमा जुट्नु पर्ने आवश्यकतालाई सबैले महसुस गर्नु पर्दछ । चुरे संरक्षण बहुपक्षीय र बहुसरोकारको विषय भएकाले यो कुनै निकायको एकल प्रयासबाट मात्र सम्भव देखिँदैन । यस कार्यमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र समुदायको सहयोग, समन्वय र अपनत्व अपरिहार्य हुन्छ ।
यस वर्षको वर्षायाम भरखर सुरु मात्र भएको छ । मनसुन वर्षा सुरू भएको पहिलो सातामा नै मुलुकभर – हिमाल¸ पहाड¸ चुरे र तराई क्षेत्रमा बाढी¸पहिरो र डुबान जस्ता प्राकृतिक विपद्ले ठूलो मात्रामा जन र धनको क्षति पुर्याएको छ । यसबाट सिङ्गो वर्षायामभरि प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको पूर्वानुमान गर्न सकिन्छ । चाहे हिमताल फुटेर आउने बाढी होस् वा मध्य पहाडी क्षेत्रमा जाने पहिरो होस्¸ त्यसबाट निस्सृत भएका ढुङ्गा¸माटो¸ बालुवासहितको गेग्रानलाई चुरे क्षेत्रबाट बगेर जाने नदीनालाहरूले तराईमा पुर्याउँदछन् । यसबाट तराईमा नदीको प्राकृतिक मार्ग पुरिन गई नदीले मानव वस्ती र खेतीजन्य जमिन बगाउने वा डुबाउने गर्दछ ।
तसर्थ हाम्रो भौगर्भिक, भौगोलिक अवस्था र पारिस्थितिकीय प्रणाली अनुकूल चुरे पहाड र भावर क्षेत्रका प्राकृतिक स्रोतहरू जस्तै, भूमि, पानी, वनस्पति र जैविक विविधता आदिको दिगो व्यवस्थापन गर्नु पर्दछ । जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्दै काठ, दाउरा र अन्य इन्धन स्रोतको उपयोगमा पहुँच वृद्धि गरी तराई र भावर क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायको जीवनस्तर माथि उकास्नु पर्दछ । यसका लागि आवश्यक कानुनहरूको निर्माण गर्दै चुरे संरक्षणमा लाग्नु हामी सबैको कर्तव्य हुन आउँदछ ।