“रेक्याभिक ग्लोबल फोरम- वुमन लिडर्स”मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको विशेष सम्बोधन

गणतन्त्र आइसल्याण्डकी प्रथम महिला महामहिम एलिजा जाँ रीड,

श्री सिल्भाना कोक-मेहरिन, वुमन पोलिटिकल लिडर्सका अध्यक्ष तथा संस्थापकज्यू,

महामहिमहरु,

भद्र महिला तथा सज्जनवृन्द।

महिला नेतृत्वको यस विश्वव्यापी मञ्चमा  आमन्त्रित गर्नुभएकोमा यहाँहरुलाई धन्यवाद दिन चाहन्छु । नेपाल देखि आइसल्याण्ड आउने मेरो यस यात्राले हामीलाई “तेस्रो ध्रुव”देखि उत्तरी ध्रुवसम्म जोडेको छ । भगवान बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सदभाव लिएर म यहाँ आएको छु ।

विश्व महिला राजनीतिक नेतृत्व मन्चले “संचार, सम्बन्ध, र समुदाय” को बहुआयामिक प्रयासबाट लैंगिक समानताको नयाँ बाटो तय गर्ने लक्ष्य लिएको छ  । समानता, आवाज, प्रतिनिधित्व र सहभागिताका लागि हामीले गरेको लामो संघर्षका उपलब्धिहरू एक आपसमा साट्ने उत्सवको रुपमा पनि हामीले यस फोरमलाई लिएका छौँ  ।

आज विश्वले कैयन चुनौतीहरु सामना गर्नुपरेको सन्दर्भमा महिलाहरुको दृष्टिकोण  निर्णय प्रक्रियाको अग्रपंक्तिमा मुखरित हुनु अपरिहार्य बनेको छ । कुनैपनि संकटले  आमा, पत्नी र छोरीहरूलाई  नै सबैभन्दा बढी प्रभावित गर्दछ । दक्षिणका मुलुकहरूको अवस्थाले यसलाई अझ स्पष्ट गर्दछ ।

हालैको विश्वव्यापी कोभिड-१९ महामारीले सीमान्तकृत समुदायहरू नै संकटको समयमा  बढी जोखिममा पर्ने वास्तविकतालाई उजागर गरेको छ । जलवायु परिवर्तनको असर पनि यो भन्दा फरक छैन ।जलवायु परिवर्तन आज हाम्रो अस्तित्वलाई नै  सकट ल्याउने कारक बन्दै गएको छ ।

नेपालमा जलवायु परिवर्तनको असर हरेक वर्ष बढ्दो र झन् विनाशकारी हुँदै गएको हामीले अनुभव गरेका छौँ । हिमनदीहरू सुक्दै गइरहेका  छन् । हिमालयमा सधैं महिना जमिरहने हिउँ पग्लिरहेको छ । लाखौं मानिसहरुको जीवन एवं जनजीविका जोखिममा परेको छ । अनपेक्षित मौसमी घटनाहरुमा वृद्धि भई अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली तथा मानव जीवनमा गम्भीर क्षति पुगिरहेको छ ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुकमध्येमा पर्दछ भने हामीसँग सो जोखिमको सामना गर्न स्रोत, साधन र क्षमताको अभाव पनि उत्तिकै टड्कारो रुपमा रहेको छ । नेपाल हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रमा पर्दैन तर, जलवायु परिवर्तनबाट अत्यन्त नकारात्मक रूपले प्रभावित छ  । तथापि जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण अभियानमा  हाम्रो उच्च प्रतिबद्धता रहेको छ। हामी पेरिस सम्झौता कार्यन्वयन गर्न दृढ छौँ र सन् २०४५ सम्म सापेक्षिक शुन्य उत्सर्जनमा पुग्ने लक्ष्य लिएका छौँ । यी उद्देश्य प्राप्त गर्न स्रोत-साधन, प्रविधि हस्तान्तरण, तथा क्षमता अभिवृद्धिका लागि छरितो तथा पारदर्शी संयन्त्र निर्माण गर्न हामी विश्व समुदायलाई आह्वान गर्दछौं ।

अध्यक्ष महोदय,

हाल नेपालमा हामी मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्तहरु आत्मसात गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छौँ ।

समानता र न्यायपूर्ण समाजको निर्माणका लागि हामीले शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक-राजनीतिक प्रबन्धहरुमा लगानी गरिरहेका छौँ ।

हामीसंग संघीय तथा प्रादेशिक विधायिकाहरुमा महिलाको एक तिहाई प्रतिनिधित्व सुनिश्चित गरिएको सुदृढ संवैधानिक आधारशिला रहेकोछ ।

हालसालै सम्पन्न स्थानीय सरकारको निर्वाचनमा एकचालीस प्रतिशत राजनीतिक पदहरुमा महिलाहरु निर्वाचित हुनुभएको छ । निजामती सेवा, सुरक्षा निकाय, सहकारी तथा निजी संस्थानहरु जस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको छ ।

तथापि राष्ट्रिय जीवनमा पूर्ण लैंगिक समानताको लक्ष्य हासिलगर्ने हाम्रो लामो यात्रा अझै जारी छ । सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कुरितीहरु विरुद्धको लँडाई जित्न बाँकी नै रहेको छ । यस अभियानमा हाम्रो प्रतिबद्धता अटल र प्रयास इमान्दार रहेकोछ।

 अध्यक्ष महोदय,

आज म यस फोरमलाई सम्बोधन गरिरहँदा, गरिबी, अल्पविकास तथा वन्चितीकरणका कारण कष्ट झेलिरहेका महिलाहरुलाई सम्झीरहेको छु ; आफ्नो र आफ्नो सन्ततिको जीवन सुधार गर्न कैयन विघ्नवाधा तथा अड्चनसँग जुधिरहेका महिलाहरुलाई सम्झीरहेको छु।

आज यहाँ विभिन्न पुस्ताका नेपाली विराङ्ग‌‍ानाहरुको प्रतिनिधित्व गर्न पाउँदा मैले गौरवान्वित महसुस गरेको छु । महिला र पुरुष बीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौतीहरु सामना गर्ने यस सामुहिक अभियानमा सम्मिलित हुन पाउँदा सम्मानित महसुस गरेको छु ।

धन्यवाद।

०९ नोभेम्बर २०२२

रेक्याभिक, आइसल्याण्ड ।