प्रेस विज्ञप्ति

आज मिति २०७४ साल फागुन ३० गते बुधबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, नवनिर्वाचित सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यूसमक्ष राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई आजैदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्ने क्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट अत्यधिक बहुमतबाट राष्ट्रपतिमा निर्वाचित गर्ने संघीय संसद र प्रदेश सभाका माननीय सदस्यहरुसहितको निर्वाचक मण्डललाई हार्दिक धन्यवाद दिनु भयो । साथै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी नयाँ संविधान कार्यान्वयनको यस महत्वपूर्ण चरणमा नेपाली जनताका प्रतिनिधिमार्फत दिएको जिम्मेवारीलाई राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्न सचेत छु भन्नुहुँदै सो अवसरमा अठ्ठाइस महिनाबढीको पहिलो कार्यकालमा आम जनताबाट प्राप्त अगाध स्नेह तथा कार्यसम्पादनमा सरकार, राजनीतिक दल, राष्ट्रसेवक, नागरिक समाज, स्वदेश तथा विदेशमा बस्ने नेपाली समुदाय र आम संचारजगतबाट प्राप्त स्वस्फूर्त सहयोग र सद्‍भावका लागि हार्दिक धन्यवाद दिनु भयो । त्यसैगरी विश्वका सबै राष्ट्रसँग आपसी सद्भाव, पारस्परिक लाभ र सम्मानका आधारमा घनिष्ट मैत्री सम्बन्ध बढाउँदै जाने नेपालको परराष्ट्र नीतिको मूलभूत लक्ष्य अनुरुप सम्बद्ध सबै पक्षबाट प्राप्त सहयोगको सराहना गर्दै यस प्रकारको सहयोग निरन्तर रहनेमा विश्वस्त भएको कुरा बताउनु भयो ।

आज राष्ट्रपति भवन शीतलनिवास परिसरमा आयोजित समारोहमा सहभागी भई बधाई र शुभकामना दिनुहुने समस्त नेपाली तथा कुटनीतिक नियोगका अधिकारीहरुलाई धन्यवाद दिनु भयो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

उपसचिव