“तमूल्होसार पर्व २०७३” का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

तमू गुरुङ्ग समुदायको महान पर्व “तमूल्होसार” का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ्ग समुदायहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेपाल धार्मिक-साँस्कृतिक रुपमा सम्पन्‍न र समृद्ध मुलुक हो। यहाँ रहेका विविध जात-जाति र तिनका मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदा आदि मुलुकका पहिचान हुन् जसले विश्‍वसामु नेपालको छुट्टै चिनारी गराएका छन् । ती सम्पदाको यथोचित संरक्षण र सम्बर्द्धन गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता, सामाजिक सद्‍भाव, सहिष्णुता एवम्  सामन्जस्यता कायम गर्ने हाम्रो साझा कर्तव्य बनेको छ ।

तमू गुरुङ्ग समुदायको यस पर्वले सबैमा उत्साह र उमङ्ग कायम गरी हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवर्द्धनमा योगदान पुर्‍याउन सकोस् तथा सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७३ पौष १५ गते शुक्रबार ।