गणतन्त्र दिवस, २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

आज जेठ १५, एघारौँ गणतन्त्र दिवस । नेपाली जनताद्वारा विगतमा संचालित गौरवपूर्ण आन्दोलनको परिणामस्वरुप स्थापित गणतन्त्रले एक दशक पूरा गरेको छ । एघारौँ गणतन्त्र दिवसको सुखद अवसरमा ज्ञात अज्ञात अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु । आजको यस ऐतिहासिक दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

ऐतिहासिक राजनीतिक परिवर्तनलाई संवैधानिकरुपले संस्थागत गर्दै मुलुकमा संक्रमणकाल समाप्त भएको हो । आम जनताको उत्साहपूर्ण सहभागितामा स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा एवम् राष्ट्रिय सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सबैका निमित्त खुशीको विषय हो । ती सबै निर्वाचनहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई संस्थागत र सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । राज्यको पुनःसंरचना अन्तर्गत नवनिर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरु जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको छ ।

मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ठ चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ । अब राज्यको नेतृत्व पंक्ति उक्त दायित्व पूरा गर्न अग्रसर हुनपर्दछ । मलाई विश्वास छ, सम्बद्ध सबै पक्षलाई देशको आवश्यकता र जनताको सामयिक आकांक्षालाई मूर्तरुप प्रदान गर्न सफलता मिल्नेछ ।

धन्यवाद !

२०७५ साल जेठ १५ गते मंगलबार ।