११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‌घाटनसत्रमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले गर्नु भएको सम्बोधन

अध्यक्ष महोदय,

महामहिम राष्ट्राध्यक्ष तथा सरकार प्रमुखज्यूहरू,

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकज्यू,

सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनका सहकर्मी मित्रहरू,

कामदार तथा रोजगारदाता प्रतिनिधिहरू,

महिला तथा सज्जनवृन्द !

  • सर्वप्रथम यो सम्मेलनको पूर्ण सफलताका लागि मैले विश्वको सर्वोच्च शिखर सगरमाथा एवम् शान्तिका प्रतीक गौतम बुद्धको जन्मभूमिबाट नेपाली जनताको अभिवादन र शुभेच्छा साथै लिएर आएको कुरा व्यक्त गर्दछु।त्यसैगरी, सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन निर्माण भई यसको कार्यान्वयन प्रारम्भ भएकोमा म अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बद्घ सबैलाई हार्दिक बधाई दिन चाहन्छु।
  • यस सम्मेलनलाई सम्बोधन गर्न मलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा म अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकलाई धन्यवाद व्यक्त गर्दछु।यस अन्तर्राष्ट्रिय श्रम संसद्लाई सम्बोधन गर्न पाउँदा मैले आफू सम्मानित भएको महसुस गरेको छु।
  • पहिलो विश्वयुद्घको विभीषिकापश्चात् सामाजिक न्यायका माध्यमबाट विश्वव्यापी र दिगो शान्ति हासिल गर्न सकिन्छ भन्ने मान्यतामा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको जन्म भएको हो। एक शताब्दीपश्चात् आज सामाजिक संवाद र त्रिपक्षीय सहकार्यको विरासत र आधारशिलामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन कार्यरत छ।

महिला तथा सज्जनवृन्द

  • आजको विश्व श्रमबजार तीव्र गतिमा परिवर्तन भइरहेको छ। यसले नवीन सीप, नयाँ प्रविधि र सिर्जनशील कार्यशैलीको माग गर्दछ। आज औद्योगिक उत्पादनका क्षेत्र हुन् वा सेवा क्षेत्र वा सूचना प्रविधिमा आधारित बैङ्किङ सेवाहरू, मेशिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स नै किन नहुन्, सबै क्षेत्रमा व्यापक परिवर्तन आएको छ। तसर्थ कार्य प्रकृतिमा आएको वदलाव सामना गर्न थप ग्रहणशीलता र नवीन कार्यशैली आवश्यक छ।
  • हामीले डिजिटल इकोनोमी, केयर इकोनोमी, गिग इकोनोमी जस्ता नवीन चुनौतीहरूलाई आत्मसात् गरेका छौँ। यी सबै क्षेत्रमा हामी ‘मर्यादित श्रमको कार्यसूची’ कार्यान्वयन गर्न प्रतिबद्घ छौँ। त्यसका लागि हामीले नयाँ काम, नयाँ सीप र नयाँ कार्यस्थलका लागि आफूलाई तयार राख्नुपर्दछ। हामीले परिवर्तित विश्वको चुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संस्थागत, कानूनी र कार्यगत पक्षको मूल्याङ्कन र पुनर्संरचना गरी सक्षम बनाउनुपर्दछ।
  • यद्यपि, एउटा विषय भने अपरिवर्तनीय जस्तै छ। त्यो हो, सामाजिक न्यायका माध्यमबाट दिगो शान्ति प्राप्त गर्ने हाम्रो सामूहिक प्रयास। यो आज पनि उत्तिकै सान्दर्भिक छ जति एक सय वर्षअघि थियो। दिगो शान्तिको कुरा गर्दा निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था नभई त्यो सम्भव छैन भन्न पनि हामीले बिर्सन हुँदैन।

महिला तथा सज्जनवृन्द,

  • अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधानको मुलमर्मको रुपमा रहेको सामाजिक न्यायले निर्दिष्ट गरेका समान अधिकार, समान अवसर र समान व्यवहारसम्बन्धी व्यवस्था नेपालको संविधानले पूर्णतः आत्मसात गरेको छ।
  • सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा सहभागी भई सामाजिक न्यायप्रति पुनः प्रतिबद्धता जनाउन, बहुपक्षीयताप्रति पुनर्विश्वास दोहोर्‍याउन तथा सामाजिक सम्झौतालाई नवीकरण गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ।
  • सामाजिक न्याय र भावी पुस्ताको भविष्यको कुरा गर्दा एक पर्वतीय मुलुकको बासिन्दा हुनुको नाताले म जलवायु परिवर्तन र यसले नेपाली जनजीवनमा पारेको प्रतिकूल असरका बारेमा केही बोल्नु सान्दर्भिक ठान्दछु ।
  • कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको नकारात्मक असरहरूको मार खेपिरहेको छ। यसमा हाम्रो किमार्थ दोष छैन। पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायतका हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत हुँदै छन् भने हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन्।
  • जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई मानव जातिलाई चरम गरिबी र असमानतामा धकेलेको छ। जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ।
  • तसर्थ, जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र क्षतिपूर्तिको व्यवस्था, आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय सुनिश्चित गरिनुपर्छ भन्ने म ठान्दछु। विश्व समुदाय खास गरेर ठूला उत्सर्जनकर्ताहरु यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन। हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन।
  • विकासमा खर्च गर्नुपर्ने ठूलो रकम घातक हतियारका लागि लगानी गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले यो पथलाई उल्ट्याउनुपर्छ र समग्र मानवताको समृद्धिका लागि स्रोतहरू परिचालन गर्नुपर्छ। दिगो शान्ति हतियारबाट होइन, साझा समृद्धि र विश्वबन्धुत्वको भावनाबाट प्राप्त गर्न सकिन्छ।

अध्यक्ष महोदय,

  • नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। हामी दक्षिण एसियाकै प्राचीन मुलुक एवं सभ्यतामध्ये एक हौँ। राजतन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको हाम्रो राजनीतिक यात्रामा सोहि गति र अनुपातमा हामीले श्रम, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा सामाजिक न्यायलाई परिवर्तनको केन्द्रविन्दुमा राख्दै आएका छौँ।
  • नेपालको संविधानले श्रमसम्बन्धी हक, रोजगारीको हक, ट्रेड युनियन गठन गर्न र सामूहिक सौदाबाजीमा सहभागी हुन पाउने हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ। संविधानको उक्त व्यवस्था कार्यान्वयनका लागि श्रम ऐन, ट्रेड युनियन ऐन, रोजगारीको हकसम्बन्धी ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा राष्ट्रिय रोजगारी नीतिजस्ता कानुनी र संस्थागत प्रबन्धहरू गरिएका छन्।
  • नेपालसँग ठूलो जनसाङ्ख्यिक लाभ छ। तीन करोड जनसंख्या भएको हाम्रो मुलुकमा दुई तिहाईभन्दा बढी जनसङ्ख्या उत्पादनशील समूहमा पर्दछ। तर सबै उत्पादनशील युवा शक्तिलाई रोजगारीको व्यवस्था गर्न सकिएको छैन। यसर्थ, हामीले आन्तरिक रोजगारी सिर्जनाको लागि ‘श्रमाधान’ योजनाको सुरूवात गरेका छौं।
  • विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ। यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकहरूलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदार सरह व्यवहार गरियोस्।
  • हामी ८.७ कार्यसमूहमा सक्रिय रहँदै बालश्रम, बलपूर्वक काममा लगाउने कार्य तथा आधुनिक दासताविरुद्ध उभिएका छौं न्यायपूर्ण सङ्क्रमणका लागि रोजगारी र सामाजिक सुरक्षा विषयमा एक पथप्रदर्शक सदस्यका रूपमा क्रियाशील छौँ। हाल नेपालमा रोजगारी, अधिकार र सामाजिक संवादसहितको मर्यादित श्रम कार्यक्रम (२०२३–२०२७) कार्यान्वयनमा रहेको छ।

अध्यक्ष महोदय,

  • आज घोषणा भएको यो विश्वव्यापी गठबन्धन, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आदर्शका रूपमा रहेको सामाजिक न्याय सबैका लागि र सबै क्षेत्रमा अङ्गीकार गर्ने दिशामा हाम्रो भद्र समर्थन र साझा प्रतिबद्धता हो। श्रमिकलाई समानता र न्याय कायम गराउनु सामूहिक सङ्कल्प पनि हो। म श्रमको सम्मान गर्ने संस्कृतिको विकासका लागि सबैलाई अपिल गर्न चाहन्छु।
  • स्वतन्त्रता र सामाजिक न्यायका लागि आफ्नो सारा जवानी अर्पण गरेको र १५ वर्ष जेल जीवन बिताएको एक अधिकारकर्मीका नाताले म भन्दछु– विश्वका सबै देश र समाजमा निमुखा जनताले न्याय पाउनुपर्छ, भोक र भयबाट मुक्ति पाउनुपर्छ।
  • श्रम जगत् नै हो जसले विश्वलाई समृद्घ बनाएको छ। श्रमको प्रतिफलको न्यायोचित हिस्सा कामदारको हातमा पुग्ने कुरा सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो भने यो नै सामाजिक न्याय हो।
  • निष्कर्शमा, सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनले सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न, आर्थिक विकास र समृद्धि हासिल गर्न सामाजिक संवादका माध्यमबाट सबैलाई ऐक्यबद्ध हुन निरन्तर प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यीनै शब्दका साथ म ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद !

जेनेभा, १३ जुन २०२४