सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले २१औं राष्ट्रिय धान दिवस, २०८१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

२१ औं राष्ट्रिय धान दिवस, २०८१ को शुभकामना सन्देश

२१ औं राष्ट्रिय धान दिवस, २०८१ को अवसरमा सम्पूर्ण नेपाली कृषक  दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले विक्रम सम्वत् २०६१ देखि प्रत्येक वर्ष आषाढ १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिनु खुशीको विषय हो । यस वर्ष ‘‘जलवायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि’’ भन्ने  राष्ट्रिय  नाराका साथ २१ औं राष्ट्रिय धान दिवस, २०८१ मनाइरहेका छौँ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धान खेती हाम्रो समाज र जीवनसँग अभिन्न भएर रहेको छ । त्यति मात्र होइन यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक महत्व पनि राख्दछ ।

जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरूक बनाई हाम्रो माग अनुसारको धान उत्पादन एवम् उत्पादकत्व बढाउनुपर्ने आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ ।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिको लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु ।

नेपालको धान खेती आकासे सिचाइँमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिचाइँ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु । कृषि क्रान्तिको पहिलो कदम सिचाइँ सुविधा हो । त्यही भएर आधुनिक खेती प्रणाली मार्फत  जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिचाइँ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बिउ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी छ ।

धान एवम् चामल आयात वर्षेनी बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ । हाम्रो श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौंका संख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद हो । कृषिलाई आकर्षक पेशाकोरुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेश मै रोक्ने पहल गरौं भन्ने मेरो आग्रह छ । साथै, खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रुपमा लिई खाने बानी परिवर्तन गरेर अन्य बालीलाई समेत प्रवर्धन गर्न हामीले उत्तिकै ध्यान दिनु जरुरी छ ।

अन्त्यमा, धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई  उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा देओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !

२०८१ असार १५ गते शनिबार ।