सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व योग दिवस, (जुन २१) २०२४ को अवसरमा दिनुभएको सन्देश

विश्व योग दिवस (जुन २१) को शुभकामना सन्देश

विश्व योग दिवस २१ जुन २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसंघको महासभाबाट  सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउन शुरू  गरिएको हो । यस वर्ष हामी “आफू र समाजका लागि योग” भन्ने  नाराका साथ विश्व योग दिवस मनाइरहेका छौं ।

योग शारीरिक अभ्यास मात्र नभई  निश्‍चित नियम, विधि र प्रक्रियामा रही अपनाउने  वैज्ञानिक जीवनशैली एवम् जीवनपद्धति समेत हो । योग,ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुन्छ । यससँग सँगै हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, सकारात्मक सोचको विकास हुने,  आन्तरिक उर्जा प्राप्त  हुने र आत्मप्रेरणा हासिल हुने लगायत सकारात्मक गुणको विकास हुन्छ । योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवम् स्थिरता तर्फ डोर्‍याउँछ । साथै, योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ भन्ने मलाई लाग्दछ ।

हाम्रा योग गुरुहरू र अध्येताहरूका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले  नेपाल योग भूमिको देश भन्ने पुष्टि गर्दछ । भौतिक विकास गरी सुख प्राप्त गर्ने आकांक्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मानसिक एवम् मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्था छ ।

नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका प्राचीन भवन, शहर, ढुङ्गेधारा, कुवा, इनार र राजकुलोहरूको  निर्माणमा पनि योग विज्ञान एवम् वास्तु शिल्पको प्रयोग गरिएको देखिन्छ । साथै, हाम्रा मठमन्दिर, मूर्तिकला र चित्रकलामा समेत योगको प्रभाव रहेको छ ।

अन्त्यमा, योग विज्ञानको अध्ययन गरिरहेका विश्वभर कै अध्येताहरूका लागि नेपाल योगको मूल गन्तव्य बन्न सक्ने हुदाँ यस वर्षको विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिक रूपमा स्वस्थ एवम् खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु  ।

जय नेपाल !

२०८१ साल असार ७ गते शुक्रबार ।