सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२४ को अवसरमा दिनुभएको सन्देश

विश्व वातावरण दिवस, (जुन ५) २०२४ को शुभकामना सन्देश

विश्व वातावरण दिवस (जुन ५) २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्र संघले आह्वान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसको  रूपमा मनाउन थालिएको हो । यस वर्ष ‘‘हाम्रो भूमि, हाम्रो भविष्य’’ भन्ने  राष्ट्रिय  नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छौँ । आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा मैले लिएको छु ।

वातावरण संरक्षण तथा सुधारको लागि नेपालले अवलम्बन गरेको राष्ट्रिय स्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उल्लेखनीय उपलव्धि हासिल भएको छ । मानिसले प्राकृतिक स्रोतहरूको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ । त्यसलाई पुनर्स्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न म सबैमा हार्दिक आव्हान गर्दछु ।

विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको छ । विकास र वातावरण एक आपसका प्रतिद्बन्द्बी नभई परिपूरक हुन् भन्ने दिगो विकासको अवधारणाबमोजिम नै नेपाल सरकारले संचालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्वोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको छ ।

नेपालले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्नको लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु ।

प्रकृतिमुखी जीवनशैलीको लागि पनि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरू एकजुट भई लाग्नु हुनेछ भन्ने अपेक्षा लिएको छु ।

वातावरणको संरक्षण तथा सम्वर्द्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय,अन्य पूर्वाधार विकास गर्ने मन्त्रालयहरू, प्रदेश तथा स्थानीय निकायहरू, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न हाम्रो मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।

जय नेपाल !

२०८१ जेठ २३ गते बुधबार ।