सम्माननीय राष्ट्रपतिज्यूको संक्षिप्त जीवनी

 
वर्तमान

 सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुनुहुन्छ । उहाँ मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । उहाँ विक्रम सम्बत् २०७२ साल कार्तिक ११ गते, इस्वी सम्बत् २०१५ अक्टोबर २८ मा नेपालको व्यवस्थापिका-संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित हुनुभयो । उहाँ राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला हुनुहुन्छ । पहिलो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी वि.सं. २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभई फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आउनुभएको छ ।

बाल्यकाल

सम्माननीय राष्ट्रपतिज्यूको जन्म वि.सं. २०१८ साल असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभञ्ज्याङ गाउँमा भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व.रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुनुहुन्छ । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह-अवरोहहरू पार गर्दै राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पुग्‍न सफल उहाँको जीवन सबैका लागि प्रेरणादायी र उर्जापूर्ण छ ।

विद्यार्थी जीवन राजनीति

राष्ट्रपतिज्यूले विद्यालय शिक्षा आफ्नै गाउँको बेहेरेश्‍वर प्राथमिक विद्यालय, पञ्‍चकन्या मिडिल स्कूल, भूल्के र विद्योदय व्यावसायिक माध्यमिक विद्यालय, भोजपुरमा हासिल गर्नुभयो । यसैगरी उच्च शिक्षा क्रमशः भोजपुर क्याम्पस, भोजपुर र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा आर्जन गर्नुभयो । भोजपुर क्याम्पसमा अध्ययनरत रहँदाको समय उहाँको जीवनयात्राका महत्वपूर्ण मोडका रूपमा स्थापित भए । त्यस क्रममा उहाँले नेपाली समाजको दयनीय अवस्थाका मूलभूत कारणहरूलाई बुझ्ने अवसर पाउनुभयो र लोकतन्त्रबिना मुलुकको अग्रगति संभव छैन भन्ने निष्कर्षमा पुग्नुभयो । वामपन्थी-लोकतान्त्रिक गतिविधिहरूमा सहभागी हुने क्रममा उहाँको राजनीतिक दृष्टिकोण उन्नत बन्न पुग्यो । आम विद्यार्थीहरूका हकहितका विषयहरूका अतिरिक्त उहाँ निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । यससँगै उहाँको जीवनको कठिन र जोखिमपूर्ण राजनीतिक यात्राको आरम्भ भयो । त्यस क्रममा उहाँ विद्यार्थीको हकहितको लागि समर्पित एक उदीयमान नेताका रूपमा स्थापित हुँदै आठ बर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र-सङ्गठनको नेतृत्वमा रहनु भयो । यसै अवधिमा उहाँ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अत्यधिक मतसहित कोषाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

बैवाहिक जीवन राजनीति

भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै उहाँ नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित हुनुभएको थियो । वि.सं. २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथलिगको कार्यकर्ताको रूपमा उहाँको सङ्गठित राजनीतिक जीवनको आरम्भ भयो र एक वर्षपछि उहाँले उक्त पार्टीको सदस्यता प्राप्त गर्नुभयो । यस सँगसँगै उहाँ वि.सं.२०३७ सालमा नेकपा (माले) निकट अखिल नेपाल महिला संघको सदस्य बन्नुभयो । महिला संघमा आवद्ध भएदेखि नै उहाँले नेपाली महिलाहरूले भोग्नुपरेका उत्पीडनका विरुद्ध निरन्तर आवाज उठाइरहनु भयो र महिला समानता र अधिकारको प्राप्तिको लागि निरन्तर संघर्षरत रहनुभयो । यसरी उहाँको राजनीतिक जीवन विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता र लोकतन्त्रका निम्ति संघर्षरत पार्टीको प्रतिवद्ध कार्यकर्ताका रूपमा तीनवटा आयाममा सँगसँगै अगाडि बढ्यो ।

वि.सं. २०३९ सालमा उहाँको शुभविवाह कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुःखद निधन भएसँगै उहाँको दाम्पत्य जीवन एघार बर्षको छोटो समयमै समाप्त भयो । पतिको दुःखद अवसानपश्चात् नाबालक नै रहेका छोरीहरू उषाकिरण र निशा कुसुमको लालन-पालनको साथसाथै थप राजनीतिक जिम्मेवारी उहाँले लिनुभयो ।

राष्ट्रिय राजनीतिमा योगदान

वि.सं. २०५४ को माघमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को छैठौं राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यसयता लगातार उहाँले पार्टीको नीतिनिर्माणको तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । वि. सं. २०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा पुनः निर्वाचित हुँदै उहाँ वि. सं. २०६५ सालमा आयोजित आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको लोकप्रियता, क्रियाशीलता र निष्ठाकै कारण वि. सं. २०७१ सालमा आयोजित नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँ पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित हुनुभयो ।

संसदीय निर्वाचनमा पनि उहाँको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । संसदीय निर्वाचनमा उहाँको सहभागिता पति मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको वि.सं. २०५० सालको उपनिर्वाचनसँगै सुरु भयो । सो उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित हुनुभयो । वि. सं. २०५१ सालको मध्यावधि निर्वाचन र वि. सं. २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन समेत गरी उहाँ काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो । वि.सं. २०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्रीका रूपमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी राष्ट्रपतिज्यूले ‌वि.सं. २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को राष्ट्रिय कमिटि सदस्य तथा केन्द्रीय महिला मजदुर विभागको संयोजकको रूपमा श्रमिक आन्दोलनको नेतृत्वदायी भूमिका समेत निर्वाह गर्नुभएको थियो ।

महिला अधिकारका लागि निरन्तर संघर्षरत उहाँ वि.सं. २०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित हुनु भयो । त्यसयता लगातार तीन पटकसम्म उक्त संगठनको अध्यक्ष निर्वाचित भै उहाँले लैङ्गिक समानताका लागि अथक प्रयत्न गरि रहनु भयो । संसद सदस्यका हैसियतले संसदभित्र महिला हकअधिकार र समानताका लागि उहाँले लड्नु भएको लडाइँ सबैका लागि स्मरणीय रहेको छ । लैङ्गिक समानता, समान ज्याला, महिला शिक्षा र घरेलु हिंसाको उन्मूलनका लागि उहाँले संसद र सडकबाट विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गर्नुभएको छ ।

वि.सं.२०६२/६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभामा प्रस्तुत गरिएको राज्यका हरेक अङ्गमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नु पर्ने विशेष प्रस्तावको प्रस्तावक उहाँ नै हुनुहुन्थ्यो र संसदले उक्त प्रस्तावलाई सर्वसम्मत ढङ्गले पारित गर्दै सरकारलाई यसको कार्यान्वयनका लागि विशेष निर्देशन दिएको थियो । सोही प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उहाँको अहम् भूमिका रहेको थियो । वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानले महिलाको हक र अधिकारका विषयमा महत्वपूर्ण व्यवस्था गरेको छ र राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको  सहभागिता सुनिश्चित गरेको छ । यस व्यवस्थासँगै नेपाली महिलाहरूले युगान्तकारी संवैधानिक-कानूनी उपलब्धि हासिल गरेका हुन् र महिला सहभागिताका दृष्टिले नेपाल विश्वमा उदाहरणीय बन्नपुगेको छ । नेपाली महिलाहरूले प्राप्त गरेको यस सफलतामा वर्तमान राष्ट्रपतिको उल्लेखनीय योगदान रहेको यथार्थ नेपाली समाजमा स्थापित छ ।

उहाँले वि.सं. २०६६ सालमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नु भयो । चुनौतीपूर्ण र संवेदनशील रक्षा मन्त्रालयको पदभार सम्हाल्ने उहाँ नेपालकै पहिलो महिला हुनुहुन्छ । रक्षा मन्त्रीका हैसियतले त्यस अवधिमा उहाँले नेपाली सेनामा पूर्व माओवादी लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्ने जस्ता महत्वपूर्ण दायित्व कुशलतापूर्वक सम्पादन गर्नुभयो । संविधानसभा सदस्य र संविधानसँग सम्बन्धित जटिल विवादहरूलाई निष्कर्षमा पु¥याउने महत्वपूर्ण वार्तामा सक्रिय सहभागीका हैसियतले नेपालको संविधानको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु हुने श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिसम्म नेकपा (एमाले) का उपाध्यक्ष, अखिल नेपाल महिला संघका अध्यक्ष र व्यवस्थापिका-संसद सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

जीवनीबाट प्रेरणा

दुर्गम ग्रामीण परिवेशमा सामान्य किसान परिवारमा जन्मनुभएकी एक नारी संघर्ष गर्दै मुलुककै  सर्वोच्च पदमा पुग्न सफल हुनुले उहाँ सबैका लागि अपार प्रेरणाको स्रोत बन्नुभएको छ ।