राष्ट्रपतिको कार्यालयको संक्षिप्त परिचय
तत्कालीन नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६क. मा नेपालमा एकजना राष्ट्रपति रहने संवैधानिक व्यवस्था पहिलो पटक गरिएको थियो। सोही संविधानको धारा ३६ट. मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यलाई सहयोग पुर्याउनको लागि छुट्टा छुट्टै कार्यालय रहने र कार्यालयको काम कारवाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा व्यवस्थापन सम्बन्धी अन्य विषय नेपाल सरकारले व्यवस्था गर्नेछ भन्ने संवैधानिक व्यवस्था भएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५/३/३० को निर्णयले त्यस बेला परराष्ट्र मन्त्रालय रहेको शीतलनिवास भवनमा राष्ट्रपतिको कार्यालय रहने व्यवस्था भएको हो ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६ख. बमोजिम व्यवस्थापिका-संसदबाट राष्ट्रपति निर्वाचित भई सम्वत् २०६५ साल साउन ८ गते तसम्माननीय राष्ट्रपति डा. रामवरण यादवले सम्माननीय प्रधानन्यायाधीश केदारप्रसाद गिरीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सोही मितिबाट औपचारिक र विधिवत रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नु भए सँगै राष्ट्रपतिको कार्यालयको कार्यसञ्चालन प्रारम्भ भएको थियो।
विक्रम सम्वत् २०७२ सालमा जारी भएको नेपालको संविधानको धारा ६१ को उपधारा (१) ले नेपालमा एक राष्ट्रपति रहने संवैधानिक व्यवस्था गरेको र धारा ७३ ले राष्ट्रपति र उपराष्ट्रपतिको कार्य सम्पादनका लागि छुट्टा छुट्टै कार्यालय रहने र कार्यालयको काम कारवाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था नेपाल सरकारले गर्नेछ भन्ने समेतको संवैधानिक व्यवस्था रहेकोले विगत कै निरन्तरता स्वरुप राष्ट्रपतिको कार्यालयले नेपालको संविधान एवम् संघीय कानून बमोजिम राष्ट्रपतिबाट सम्पादन हुने कार्यलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने एवं त्यसरी सम्पादन भएका कार्यलाई अभिलेखीकृत, प्रणालीबद्ध र संस्थागत गर्ने कार्य गर्दै आएको छ ।