राष्ट्रिय बाल दिवस, २०८२ को शुभकामना सन्देश
राष्ट्रिय बाल दिवस, २०८२ को अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्दछु ।
नेपालले बाल अधिकार सम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भादौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आइएको छ। यस वर्ष “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नारा रहेको छ। यस दिवसले बालबालिकाको लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवम् विकासमा ध्यान दिदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिन्छ।
नेपालको संविधानले मौलिक हकको रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ। बालबालिकाहरूका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू तथा संवैधानिक कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकिकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ। बाल बालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास गर्न सकिन्छ।
अझै पनि केही बालबालिकाहरू आफ्नो बालअधिकारबाट वंचित भएको कुरा सुन्नमा आउँछ। तसर्थ, विभिन्न कारणहरूले बालबालिकामा पर्ने असर तर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ। बालबालिका माथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा तथा दुर्व्यवहार रोक्नु सम्बन्धित सरोकारवालाहरूको दायित्व रहेको हुन्छ। बालबालिकाको भविष्य सुनिश्चित गर्न सिर्जनात्मक, व्यवहारिक, नि:शुल्क र गुणस्तरीय शिक्षाको व्यवस्था, पोषणयुक्त आहार, सुरक्षित खानेपानी र सरसफाई, आवश्यक खोप एवम् बालमैत्री स्वास्थ्य संस्था एवम् नीतिगत, कानूनी र बालमैत्री कार्यसम्पादन को प्रबन्ध गर्नु आवश्यक हुन्छ। बालबालिकाहरूलाई घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सिर्जना गरी सबै समूह र समुदायका बालबालिकाहरूलाई समन्यायिक अवसरको सुनिश्चितता प्रदान गर्न यस दिवसले सहयोग पुग्ने अपेक्षा गर्दछु।
अन्त्यमा, बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न सम्वद्ध सबै पक्षको ध्यान आकृष्ट हुने नै छ भन्ने विश्वासका साथ यस दिवसले बालबालिकाहरूको सर्वाङ्गिण विकासका लागि सम्वद्ध सबैमा थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।
जय नेपाल !
२०८२ भदौ २९ गते आइतबार ।
ने.सं. ११४५ ञलागा, सप्तमी ।


