२६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ को अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

“ज्येष्ठ नागरिकप्रति गरिने भेदभाव विरुद्ध उभियौं” (“Take a Stand Against Ageism”) भन्ने नाराका साथ देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी आज मनाउन लागिएको २६ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७३ (तद्‌नुसार १ अक्टोबर २०१६) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरुको सुख, शान्ति, सुस्वास्थ्य दीर्घजीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ज्येष्ठ नागरिकको योगदानबाट प्रेरणा लिने र समृद्ध अनुभवबाट शिक्षा प्राप्त गर्न युवा पिँढी तयार हुनु पर्दछ । यसो गर्न सक्दा नै जेष्ठ नागरिकप्रति सच्चा सम्मान गरेको ठहरिने छ ।

यही भावनाअनुकूल वर्तमान संविधानमा मौलिक हकको रुपमा ज्येष्ठ नागरिकहरुलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्थासमेत गरिएको
छ । तसर्थ, राज्यले सीमित स्रोतका बावजूद पनि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र विभिन्न सेवासुविधाहरु प्रदान गरिरहेको छ ।

अन्तमा, ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित एवम् सुखमय बनाउन यथोचित योगदानका लागि सम्बन्धित सरोकारवाला सबै पक्षसँग हार्दिक आह्वान गर्दछु ।

धन्यवाद !

२०७३ असोज १५ गते शनिबार ।