२६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

“सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रुपान्तरण” -Transformation towards Sustainable and Resilient Society for All ) भन्ने विश्‍वव्यापी मूल नारा तथा “कोही पनि नछुटुन, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौं हामी सारा ” भन्‍ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २६औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनी तथा यस क्षेत्रमा कार्यरत व्यक्तिहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्द्धनका लागि क्रमिक रुपमा विभिन्‍न कामहरु भैरहेका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकार मुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मानिर्भर बनाउदै लैजानु आजको आवश्यक्‍ता
हो । संयुक्त राष्ट्रसंघीय अपाङ्गता सम्वन्धी महासन्धीमा उल्लेखित अधिकारहरु कार्यान्वयनका लागि नीति तथा कानून निर्माण गरी अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनस्थापनाको लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी छ ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना, अपाङ्ग मैत्री कानुन, विशेष सामाजिक सुरक्षा, पुनस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रकृयामा  अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता जस्ता विषयहरु हाल नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सन्दर्भमा उठिरहेका सवालहरु हुन भन्‍ने मलाई लाग्छ । यी कुराहरुलाई आत्मासात गरी श्रोत, साधन लगायत आवश्यक कुराहरुको प्रवन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजाने तर्फ हामी सबैले ध्यान केन्द्रित गर्नु पर्छ भन्‍ने मलाई लाग्छ।

अन्तमा, अन्तर्राष्ट्रिय अपाङ्ग दिवसले यस क्षेत्रमा काम गर्ने नागरिक समाज, अपाङ्गता भएका व्यक्तिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था सवैलाई यस क्षेत्रमा अझ क्रियाशिल बन्‍न उत्प्रेरणा मिलोस भन्‍ने कामना गर्दछु ।

धन्यवाद !

२०७४ साल मंसिर १७ गते आइतबार ।