२५६१ औं बुद्धजयन्ती २०७४ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालका राष्ट्रगौरव र अमरज्योति गौतम बुद्धको २५६१ औं जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुलगायत समस्त नेपालीहरु तथा शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संघीय संरचनामा आधारित समावेशी, समानुपातिक एवं लोकतान्त्रिक समाज तथा द्रूततर आर्थिक, सामाजिक विकास, दीगो शान्ति, सुशासन एवं समृद्धि तर्फ उन्मुख हाम्रो देशमा विविध जातजाति, भाषाभाषी र धार्मिक तथा सामाजिक साँस्कृतिक विविधता वीच एकता, सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउने अभियानमा गौतम बुद्धका उपदेश तथा मार्गदर्शनहरु हामी सबैका लागि पे्ररणादायी एवं अनुकरणीय रहेका छन् । बुद्धदर्शनलाई जीवनमा आत्मसात् गर्दै स्थापित चार आर्य सत्यलाई अंगीकार गर्न सकेमा मात्र पनि हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व प्रर्बद्धन हुने निर्विवाद छ ।

अन्यमा, नेपालको पवित्रस्थल लुम्विनीमा जन्मनु भएका नेपालमाताका सुपुत्र गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धजयन्ती मनाइरहदा सद्भाव, मेलमिलाप र सहअस्तित्व एवं अहिसांवादी सिद्धान्तको पालना गर्न सवैलाई प्रेरणा मिलोस भन्ने कामना गर्दछु ।

धन्यवाद !

२०७४ वैशाख २७ गते बुधबार ।