हरितालिका तीजको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, संमृद्धि, आपसी एकता र पारिवारिक सद्‍भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । बहुजाति, बहुभाषा, बहुसँस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा यी र यस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न सहयोग पुगिरहेको तथा एकापसमा खुसी र मनोरञ्जन साटासाट गर्ने अवसर समेत प्रदान गरेका छन् ।

हाम्रो देशमा मनाइने विविध चाडपर्वहरुले आफ्नै मौलिक मूल्य र मान्यताहरुसहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई समृद्ध तुल्याएका छन् । यस्ता चाडपर्वहरु मनाइरहँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ । नयाँ संविधान जारी भएपछि देशको द्रुततर आर्थिक, सामाजिक रुपान्तरण गर्नुपर्ने आवश्यकतालाई हृदयंगम गर्दै हाम्रो विविधतापूर्ण संस्कृति अनुरुप यस्ता चाडपर्वहरु मनाउँदा कुरीति र कमिकमजोरीहरु हटाउनुकासाथै आर्थिक मितव्ययीता अपनाउनु आजको अपरिहार्यता हो ।

अन्त्यमा, हरितालिका तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, साँस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर कायम गर्न सघाउ पुर्‍याओस् भन्ने शुभकामना तथा शुभेच्छा प्रकट गर्दछु ।

 

धन्यवाद !

२०७४ भदौ ८ गते बिहीबार ।