सोनमल्होसार २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको शुभकामना सन्देश

महान पर्व सोनमल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ्ग दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तामाङ्ग समुदायले यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरन्जन र खुशी साटासाट गरी मनाउने गर्दछन् । विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको तामाङ्ग जाति तथा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको छ । हिमाल, पहाड, तराइ तथा पूर्वदेखि पश्चिम महाकालीसम्म वसोवास गर्ने भिन्न भिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् साँस्कृतिक पहिचान वोकेका सबै नेपालीले मनाउने विभिन्न चाडपर्वहरुले राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिवीच सामाजिक सद्‍भाव अभिवृद्धि गर्न सफल भएका छन् । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वर्द्धन गर्न सकेमा विश्व सामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्‍न सकिने भएकोले यसतर्फ हामी सबैको ध्यान पुग्नु पर्दछ ।

अन्त्यमा, सोनमल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह एवम् उमङ्ग वढाओस्  र  देशमा शान्ति, सद्‍भाव र सहिष्णुता कायम गरी आर्थिक र सामाजिक रुपले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना  गर्दछु ।

 

धन्यवाद

२०७४ साल माघ ४ गते विहीवार