सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व, २०७७ को शुभकामना सन्देश

वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीको रूपमा मानिएकी कुमारीको पूजाआराधना गरी  मूलत: काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वको शुभ अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा आराधनाका साथै नेवारी परिकार समयबजीको भोजन सहित हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।

मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबभन्दा ठूलो पर्वको रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वहरूले समाज र समुदायका सदस्यहरू बिचको आपसी सम्बन्धलाई नवीकृत गर्नुका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बिचमा परस्पर विश्‍वास‚ सद्‍भाव‚ सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने कुरामा विश्‍वस्त छु ।

अन्तमा‚ कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतहरूको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्न चाहन्छु । साथै, विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।

धन्यवाद ।

२०७७ साल भदौ १६ गते मङ्गलबार ।