सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गौरा पर्व, २०७७ को शुभकामना सन्देश

गौरा पर्व, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने गौरा पर्व नेपालको एक महत्वपूर्ण सांस्कृतिक चाड हो । गौरा पर्वको अवसरमा महिलाहरूले शिव र पार्वतीको पूजा अर्चना सहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने¸ नि:सन्तानलाई सन्तान प्राप्ति हुने तथा आफ्नो मनोकांक्षा पूरा भई जीवनमा सुख, शान्ति प्राप्त हुने जनविश्‍वास रहेको छ । गौरा पर्वलाई हाम्रो मुलुकको मध्य तथा सुदूरपश्‍चिम क्षेत्रमा प्रमुख चाडको रूपमा मनाइने भएकाले यस पर्वको अवसरमा काम विशेषले परदेश गएकाहरू घर फर्कने¸ विवाहिता महिलाहरू माइत जाने¸पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको “बिरुडा” लाई प्रसादको रूपमा ग्रहण गरी देउडा¸ धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन रहेको छ । यसरी गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम¸विश्वास र सद्‍भावलाई प्रगाढ बनाउँनुका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।

अन्त्यमा¸ गौरा पर्व जस्तो विशिष्ट सांस्कृतिक चाडको माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीहरू बीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् भनी हार्दिक शुभेच्छा व्यक्त गर्न चाहन्छु । साथै विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै गौरा पर्वको मौलिक परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।

धन्यवाद ।

२०७७ साल भदौ १० गते बुधबार ।