सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जितीया पर्व, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

जितीया पर्व२०७ को शुभकामना सन्देश

नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरूले मनाउने जितीया पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायूको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

‘जिमुतवाहन व्रत’ समेत भनिने जितीया पर्व प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाहरूले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

यस्ता सांस्कृतिक पर्वहरूले परिवार र समुदायका सदस्यहरूको बीचमा आपसी प्रेम‚ विश्‍वास‚ सद्‍भाव र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका संपूर्ण नेपालीहरूका बीचमा समेत परस्पर सद्‍भाव‚ सहिष्णुता‚ समझदारी र ऐक्यवद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।

हाम्रो देशमा मनाइने यस किसिमका चाडपर्वहरूले हाम्रो विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेका हुन्छन् । यी चाडपर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यासहरू एवं  अव्यवहारिक पक्षहरूलाई समय सापेक्ष सुधार समेत गर्दै जानु पर्दछ भन्ने मलाई लागेकोछ ।

अन्तमा‚ जितीया पर्वले महिलाविरुद्ध थोपरिएका सबै प्रकारका विभेद‚ असमानता र हिंसालाई अन्त्य गर्दै समतामूलक प्रगतिशील सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई उत्प्रेरणा र उत्साह प्रदान गरोस् भनी  हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ भदौ २५ गते,  बिहीबार ।