सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बालदिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बालदिवस२०७७ को शुभकामना सन्देश

‘विपद्‌मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने संकल्पका साथ यो वर्षको राष्ट्रिय बालदिवस मनाउन लागेकोमा मलाई खुशी लागेको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधान तथा कानुनमा बालअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनका लागि महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरिएको छ । हाम्रो मुलुकले बालअधिकार सुनिश्चित गर्न विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धताहरूमा हस्ताक्षर गरिसकेको छ । यी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व हुन आएको छ ।

गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र बनाउन तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू, सामुदायिक क्षेत्र, संचार जगत् तथा नागरिक समाजबाट विभिन्न पहलहरू भइरहेका छन् । बालहिंसाविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । बालसंरक्षण प्रणाली सुदृढीकरण गर्दै अनाथ तथा संरक्षणविहीन बालबालिकाको संरक्षकत्व राज्यले ग्रहण गर्ने नीति समेत लिएको छ ।

हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको असहज परिस्थितिमा शैक्षिक संस्थाहरू बन्द रहेका भएपनि सीमित स्रोत र साधनका बाबजुद वैकल्पिक माध्यमबाट पठनपाठन संचालन गर्ने प्रयास भइरहेकोमा म सराहना गर्दछु । विपद्को यस विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज तथा अभिभावकहरू संवेदनशील हुनुपर्नेमा ध्यान आकृष्ट  गराउन चाहन्छु । महामारीको अन्त्यपछि शैक्षिक क्रियाकलापहरू यथावत् सुचारु हुनेमा म विश्वस्त छु ।

अन्तमा, राष्ट्रको भविष्यका जिम्मेवार नागरिक आजका बालबालिकाको संरक्षण र विकासमा दत्तचित्त भई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षालाई साकार पार्न सम्बद्ध सबैको प्रतिबद्धताको अपेक्षा गर्दै पुनः राष्ट्रिय बालदिवस, २०७७ को शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ भदौ २९ गते सोमबार ।