सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ईद (इदुल फित्र) पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ईद (दुल फित्र) पर्व, २०७७ को शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ईद (इदुल फित्र) पर्वलाई मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशी साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूको धार्मिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‌भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने महसुस गरेको छु । साथै यस पर्वले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुर्‍याउने अपेक्षा समेत लिएको छु ।

आज विश्वलाई नै नोवल कोरोनाभाइरस (कोभिड-१९) को महामारीले आक्रान्त पारिरहेको छ । यस महामारीबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य हुन आएको छ । सबैले संयम र धैर्यताका साथ सरकारको आव्हान बमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनी यो पर्व मनाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।

अन्तमा, यस पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको  भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।

धन्यवाद ।

मिति २०७७ जेठ १२ गते सोमबार ।